रौतहट, २२ जेठ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारको आरोपलाई अस्वीकार गर्दै आफूले एक नयाँ पैसा पनि भ्रष्टाचारको निम्ति नलिएको र कसैबाट अनुचित लाभ नउठाएको बताउनुभएको छ ।
उहाँले आफूले कुनै पनि मन्त्रीलाई अनुचित काम गर्न निर्देशन नदिएको दिएको भए प्रमाण पेस गर्न चुनौती दिनुभयो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो प्रकरणमा विशेष अदालतमा आफू विरुध्द मुद्दा दायर गरेपछि आज गृह जिल्ला रौतहटमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले सो वताउनुभएमको हो ।
उहाँले काभ्रेस्थित पतञ्जलि योगपीठ नेपाललाई जग्गा सट्टापट्टा गर्न दिने तत्कालीन मन्त्रिपरिषद्को निर्णय विशुद्ध रूपमा नेपालमा योग र आयुर्वेदको प्रवर्द्धन गर्ने सकारात्मक नियतले प्रेरित रहेको बताउनुभएको छ ।
नेपालमा योगको प्रचारप्रसार होस्, आयुर्वेदको औषधिहरूको उत्पादन होस् भन्ने कुराको पक्षमा आफू रहेको बताउनुभएको छ ।
उहाँले पतञ्जलि योगपीठ जस्ता संस्थाहरूमा स्वामी रामदेव र आचार्य बालकृष्ण जस्ता व्यक्तित्वहरू संलग्न रहेको र उनीहरूको प्रयासलाई असल नियतले हेरिनुपर्ने बताउँदै ‘तर त्यो गर्दाखेरि नियम, कानुन, विधिको सम्मान गर्नुपर्छ, पालन गर्नुपर्छ।’
अध्यक्ष नेपालले मन्त्रिपरिषद्बाट भएका निर्णयहरू प्रक्रियागत रूपमा हुने र यदि कुनै प्रक्रियामा त्रुटि भएको वा कानुनसम्मत नभएको पाइएमा त्यस्ता जग्गाहरू फिर्ता लिन सकिने कानुनी व्यवस्था रहेको पनि उल्लेख गर्नुभयो ।
उहाँले यस विषयलाई बद्नियतपूर्ण तरिकाले नभई सकारात्मक र राष्ट्रिय हितको दृष्टिकोणबाट हेरिनुपर्नेमा जोड दिनुभयो।
