काठमाडौँ, १९ जेठः सरकारले यातायात व्यवसायीसँग छलफल गर्नका लागि वार्ता समिति गठन गरेको छ । गण्डकी प्रदेश सरकारले जारी गरेको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा सडकमा उत्रिएका व्यवसायीसँगको छलफलका लागि वार्ता समिति गठन गरिएको हो ।

यातायात व्यवसायी तथा मजदुरका आठ सङ्गठनले देशभर सार्वजनिक यातायात ठप्प पारेपछि गृहमन्त्री रमेश लेखकसहित सरोकारवाला निकायले आज यातायात व्यवसायी तथा मजदुरसँग छलफल गरेका हुन् ।

गृह मन्त्रालयमा आज बसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिवको संयोजकत्वमा विभिन्न मन्त्रालयका प्रतिनिधि तथा यातायात व्यवसायी रहने गरी वार्ता समिति गठन गरेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।

समितिमा सरकारका तर्फबाट विभिन्न मन्त्रालयबाट आठ जना र यातायात व्यवसायी तथा मजदुरको तर्फबाट चारजना सदस्य रहने छन् ।

पत्यकामा प्रहरीको निःशुल्क बस सञ्चालन
व्यवसायीले सार्वजनिक यातायात सञ्चालन नगरेपछि नेपाल प्रहरीले सर्वसाधारणलाई सेवा दिन आज काठमाडौँ उपत्यकामा निःशुल्क बस सञ्चालन गरेको छ । प्रहरी प्रधान कार्यालयले विभिन्न दुईवटा रूटमा निःशुल्क बस सञ्चालन गरेको हो । प्रहरी प्रधान कार्यालय नक्सालबाट ती बस काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न गन्तव्यमा छुट्ने प्रहरीले जनाएको छ ।

नक्सालबाट बालुवाटार, महाराजगन्ज, नयाँ बसपार्क, स्वयम्भू, कलङ्की, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल रुटमा बस चल्नेछ । यस्तै नक्सालबाट रातोपुल, गौशाला, एयरपोर्ट, काटेश्वर, सल्लाघारी, सूर्यबिनायक, चाबहिल, सुकेधारा, चक्रपथ, महाराजगन्ज, बालुवाटार हुँदै नक्सालसम्को रुटमा पनि प्रहरीको बस चल्नेछ ।

बढी भाडा नलिन निर्देशन

प्रहरीले यात्रुसँग बढी भाडा नलिन विभिन्न राइड सेयरिङ कम्पनीका राइडरहरूलाई निर्देशन दिएको छ । बढी भाडा लिने र अफलाइन यात्रु ओसार्ने गरेको गुनासो आएपछि प्रहरीले त्यस्तो निर्देशन दिएको हो । यात्रुसँग बढी भाडा लिएको पाइएमा नजिकको ट्राफिक प्रहरी कार्यालयमा उजुरी दिन प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर