दमौली (तनहुँ), ११ जेठ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदी पुलबाट आज जिप खस्दा तीन जनाको मृत्यु भएको छ ।
दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग२च ५७६० नम्बरकोे जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको हो । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइतेहरूको दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिनुभयो । जिपमा पाँच जना सवार थिए ।
मृत्यु हुनेमा व्यास–५ का ३५ वर्षीय प्रविन थापामगर, सोही ठाउँका २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापा रहेका प्रहरीले जनाएको छ । उनीहरुको दमौली अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा जिप चालक व्यास नगरपालिका–४ बस्ने २५ वर्षीय रोहित गुप्ता र वीरगञ्ज घर भई दमौली बस्ने २० वर्षीय धीरज रौनियार घाइते भएका छन् । घाइतेमध्ये धीरजलाई थप उपचारका लागि पोखरा पठाइएको छ । दुर्घटनाका घाइतेलाई नेपाल प्रहरी र नेपाली सेनाले उद्धार गरेका थिए ।
