काठमाण्डौँ, २९ बैशाख । अमेरिका र चीनबीच आगामी ९० दिनका लागि ट्यारिफ (भन्सार) शुल्क स्थगित गर्ने सहमति भएको छ । आज सोमबार जारी गरिएको दुई देशको एक संयुक्त विज्ञप्तिमार्फत् यो जानकारी गराइएको छ ।
बीबीसीका अनुसार अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले चीनसँग ९० दिनका लागि ट्यारिफ स्थगन गर्ने र भन्सार दरमा उल्लेखनीय गिरावट ल्याउने सहमति भएको बताउनु भएको छ ।त्यसतै चीनको वाणिज्य मन्त्रालयले पनि गत अप्रिल २ देखि अमेरिकाविरुद्ध लगाइएको सम्पूर्ण ‘जवाफि ट्यारिफ’ निलम्बन गरिएको पुष्टि गरेको छ ।
हाल अमेरिकाले चीनबाट आयात हुने वस्तुहरूमा १४५ प्रतिशत ट्यारिफ लगाएको छ भने चीनले अमेरिकाबाट आयात हुने केही वस्तुमा १२५ प्रतिशतसम्म ट्यारिफ लगाएको छ ।समाचार अनुसार अब दुवै पक्षले आफ्ना ट्यारिफमा ११५ प्रतिशतसम्म कटौती गर्ने सहमति गरेका छन् । मे १४ अर्थात् यही बुधबारबाट ट्यारिफ स्थगित हुने निर्णय कार्यान्वयमा आउने बताइएको छ ।
यो सहमति सार्वजनिक भएसँगै दुबै देशको मुद्राको मूल्य वृद्धि भएको छ । डलरको मूल्य पाउन्ड, युरो र जापानी येनको तुलनामा बढेको छ भने युआनको मूल्य पनि यी तीन प्रमुख मुद्रासँगै डलरको तुलनामा बृद्धि भएको छ ।
