काठमाण्डौं,२८ वैशाख । चितवनको कान्दा गाउँममा अझै सवारी साधन पुगेको छैन । चेपाङ समुदायको बसोबास रहेको सो स्थानमा सवारी साधान पुगेको ठाउँबाट दुई घण्टा बढी पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । यस पटक बोकेरै भए पनि यहाँका चेपाङ समुदायले आफ्नो गाउँमा पहिलोपटक हाते ट्याक्टर पुर्याएका छन् ।
यसरी बारी जोत्ने ट्याक्टर पुग्दा उनीहरु दङ्ग छन् । मितेरी कृषक समूहका अध्यक्ष सीताबहादुर चेपाङ गाउँमै हाते ट्याक्टर आइपुग्दा सबै स्थानीय खुसी भएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘युवाहरु श्रम गर्न बाहिर जाँदा गाउँमा बुढाबुढी र बालबालिकामात्र रहनुपर्ने अवस्था छ, गोरु पाल्ने परम्परा पनि घट्दै जाँदा खेतबारी बाँझै हुने अवस्था थियो । अब हाते ट्याक्टरले जोत्न पाउँदा सहज हुने भयो ।’
राप्ती नगरपालिका–१३ मा पर्ने कान्दा चितवनको सबैभन्दा विकट ठाउँ पनि हो । अहिलेसम्म विद्युतीकरणसमेत नभएको कान्दा पूर्वपश्चिम राजमार्गको भण्डाराबाट चेपाङ मार्ग हुँदै दुई घण्टा गाडीको यात्रा गरेपछि भञ्ज्याङ पुगिन्छ । त्यहाँबाट झण्डै दुई घण्टा हिँडेपछि मात्र कान्दा पुग्न सकिन्छ । उनीहरूले शनिबार बोकेरै हाते ट्याक्टर कान्दा पुर्याएका हुन् । हाते ट्याक्टर बोक्न सबै गाउँले उपस्थित भएका थिए ।
यस ठाउँमा १५ वर्षअघि जङ्गली च्याउ खाँदा एकै परिवारका आठ जनाको मृत्यु भएको थियो । त्यसपश्चात् यस ठाउँमा विभिन्न सङ्घसंस्थाको सहयोगमा रुपान्तरणका काम भइरहेका छन् ।
जङ्गली कन्दमूल खाएर जीवनयापन गर्दै आएका यहाँका चेपाङ समुदाय पछिल्लो समयमा आफैँ कृषि पेसा गरेर जीविकोपार्जन गर्दै आएका छन् । कृषि पेसालाई व्यावसायिक बनाउन सहयोग गर्न यस हाते ट्याक्टरले धेरै सहयोग पुग्ने अध्यक्ष सीताबहादुरको विश्वास छ ।
स्थानीय किसान कृष्णबहादुर प्रजाले गाउँमा पहिलोपटक ट्याक्टर देख्न पाउँदा नयाँ युगमा प्रवेश गरेको अनुभूति गरेको बताउनुभयो ।
यो हाते ट्याक्टर कृषि विकास कार्यालयको ५० प्रतिशत अनुदान र भरतपुरको सेन्ट्रल कलेजको ५० प्रतिशत सहयोगमा कान्दामा पुगेको हो । पैसठ्ठी घर रहेका कान्दामा मितेरी कृषक समूहमार्फत किसान एकीकृत भएर कृषि पेसा गरिरहेका छन् ।
यस्तै सोही ठाउँको कान्देश्वरी आधारभूत विद्यालयको छात्राबासको जग्गामा पनि कृषिखेती गरिएको छ । त्यहाँ उत्पादन भएको तरकारी र अन्न छात्राबासमा बसोबास गरेर अध्ययन गर्ने चेपाङ बालबालिकालाई खुवाउने गरिएको छ ।
हाते ट्याक्टर कृषक समूह र छात्राबास दुवैका लागि प्रयोगमा ल्याइने कान्देश्वरी आधारभूत विद्यालयका प्राधानाध्यापक बालकृष्ण थपलियाले बताउनुभयो ।
उनका अनुसार कृषि उत्पादनसँग यहाँ अध्ययनरत चेपाङ बालबालिकालाई जोड्ने गरेका छौं । ‘बालबालिकाकै माध्यमबाट अभिभावकहरू पनि यसतर्फ आकर्षित भइरहनुभएका छन् ।
कान्दामा लामो समयदेखि काम गरिहेको मितेरी फाउन्डेसनका अध्यक्ष तथा पत्रकार रमेशकुरमार पौडेलले हाते ट्याक्टर पुर्याउनका लागि सहजीकरण गर्नुभएको थियो ।
यहाँका किसानले मकै, कोदो, फापर र तरकारीखेती गर्दै आएका छन् । हावापानीका दृष्टिकोणले चिसो मौसम रहेको यस ठाउँमा मौसमअनुसारका फलफूलखेती गर्न सकिन्छ ।
