काठमाण्डौं, २८ बैशाख । गत चार दिनदेखि चलेको भारत र पाकिस्तानबीचको युद्ध रोकिएको छ । अमेरिकाको मध्यस्थतामा ती देश हिजो शनिबार ‘युद्धविराम’का लागि तयार भएका हुन् ।
सर्वप्रथम यो जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत् गराउनु भएको थियो । उहाँले भारत र पाकिस्तान ‘युद्धविराम’का लागि तयार भएकामा बधाई समेत दिनुभएको छ ।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्नु भएको छ : अमेरिकाले रातभरि गरेको प्रयासस्वरुप भारत र पाकिस्तान तत्काल युद्धविरामका लागि छन्। यो जानकारी गराउन पाउँदा प्रसन्न छु ।
दुई देशले बुद्धिमता देखाएको भन्दै ट्रम्पले भारत र पाकिस्तान दुवैलाई धन्यवाद पनि दिनुभएको छ।
भारत-पाकिस्तान तनाव बढ्दै जाँदा ट्रम्पले विवाद समाधानका लागि मध्यस्थता गर्न अमेरिका तयार भएको बताएका थिए। त्यसपछि शनिबार नै अमेरिकी विदेशमन्त्री मार्को रूबिओले पाकिस्तानका विदेशमन्त्री इशाक डार र सेना प्रमुख असिम मुनिरसँग टेलिफोन संवाद गरेका थिए।
संवादमा उहाँले तनाव उत्कर्षमा पुगेको बेला भारत र पाकिस्तान दुवैले उच्च संयमता अपनाउनुपर्ने र वार्तामार्फत हल खोज्नुपर्ने बताउनु भएको थियो।
शनिबार दिउँसो नै पाकिस्तानका विदेशमन्त्री इशाक डारले आक्रमण रोक्ने सहमति भइसकेको बताउनु भएको छ। त्यसैगरी भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले पनि युद्धविराम गर्ने सहमति भएको जानकारी गराउनु भयो ।
त्यसपछि हिजै साँझ पाँच बजेपश्चात् दुबै देशले जमिन, आकाश र समुद्रबाट हुने सबै प्रकारका आक्रमण बन्द गरेका छन् । अहिले भारत पाकिस्तान सीममा शान्त छ ।
