कास्की, १५ वैशाखः कास्कीको अन्नपूर्ण गाउँपालिकामा चट्याङ लागेर दुई मजदुरको मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिका–११ पोडेस्थित त्रिवेणी ताल पदमार्गमा काम गरिरहेको अवस्थामा आइतबार हावाहुरीसहितको चट्याङ लागेर सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–२ का ४४ वर्षीय भरत पुविर राई र सोही ठाउँका वर्ष १८ का महेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

समुन्द्री सतहदेखि तीन हजार आठ सय मिटर उचाईमा रहेको त्रिवेणीताल पदमार्गमा बाटो फराकिलो बनाउने, सिँढी हाल्ने र रेलिङ निर्माणमा खटिएका नौ जनामध्ये बाँकी सात जना भने सकुशल रहेको जनाइएको छ ।

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा चार जनाको टोली आइतबारनै घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक शमाले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लाबाट गएको प्रहरी टोली हिजो राति घान्द्रुक पुगेर बास बसेको छ । त्यहाँबाट पैदल पाँच घण्टाभन्दा बढी समय लाग्ने भएकाले दिउँसोसम्म घटनास्थल पुगेर शव ल्याउने प्रक्रिया सुरु हुन्छ ।”

नेपाल पर्यटन बोर्ड र गाउँपालिकाकाको संयुक्त लगानीमा पदमार्ग निर्माण सुरु भएको गाउँपालिकाले जनाएको छ ।

गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते

गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । चट्याङ लागेर मुत्यु हुनेमा सहिद लखन गाउँपालिका–१, बक्राङका ४२ वर्षका राजु खनाल रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धुब्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

आइतबार साँझ अन्दाजी ७ः५० बजे घरमा बसिरहेका बेला एक्कासी परेको चट्याङ लागेर खनाल गम्भीर घाइते हुनुभएको थियो । घाइते खनाललाई प्रदेश अस्पताल गोरखामा उपचारका लागि ल्याएको भएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक शर्माले जानकारी दिनुभयो ।

मृतकको शव अहिले परीक्षणका लागि अस्पतालमा राखिएको छ । त्यस्तै आइतबार साँझ नै पालुङटार नगरपालिका–७ स्थित च्याङलीमा चट्याङ लागेर ५० वर्षकी सुकमायाँ आले, १८ बर्षिया विपना आले घाइते भएका छन् । घाइते दुवैजनाकोे चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ओखलढुङ्गामा चट्याङले बाह्र जनाको मृत्यु, चौबिस घाइते
ओखलढुङ्गामा चट्याङ लागेर १२ जनाको ज्यान गएको छ । जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको तथ्याङ्कअनुसार चट्याङले ६ वर्षको अवधिमा १२ जनाको ज्यान गएको हो ।

आर्थिक वर्ष २०७६/७७ देखि २०८१/८२ सम्मको तथ्याङ्कअनुसार चट्याङ लागेर १२ जना मृत्यु र २४ जना घाइते भएका छन् । यस अवधिमा लाखौँको क्षति भएको तथ्याङ्क छ । पछिल्लो दुई वर्षमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । १० जनामा घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिनुभयो ।

चालु आवको साउनदेखि चैत मसान्तसम्म चट्याङका कारण तीनजना मानिस घाइते भएका छन् । यस अवधिमा १० वटा चौपायाको मृत्यु भएको छ । विभिन्न विद्युतीय उपकरणमा समेत क्षति भएको छ । गत आव २०८०/८१ मा ६ स्थानमा चट्याङ पर्दा दुईजनाको मृत्यु र सातजना घाइते भएका थिए ।

यस्तै तीन घर प्रभावित भएका थिए भने पाँचवटा चौपायाको मरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको तथ्याङ्कमा उल्लेख छ । अन्य विपद्मा जस्तो चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि जिल्लाका स्थानीय तह र सरोकारवाला निकायले त्यति ध्यान दिएको देखिँदैन ।

चट्याङबाट बच्ने उपायबारे नागरिकमा आवश्यक ज्ञान नहुनु र चट्याङ रोकथामका लागि ‘अर्थिङ’ गर्नेलगायतका विधि अपनाउने गरिए पनि जिल्लामा यसको अभ्यास छैन । जिल्लामा सञ्चालित एफएम रेडियो र विद्युतीय उपकरण सञ्चालन गर्ने निकायहरूले बर्सेनि चट्याङबाट लाखौँको क्षति व्यहोर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर