काठमाडौँ, १२ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले शिक्षकका आवाज सरकारले नसुनेकामा गुनासो प्रकट गर्दै तत्काल जायज माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले अग्रगामी एजेण्डासहित विद्यालय शिक्षा विधेयक पारित गर्न कुनै कञ्जुस्याइँ गर्न नहुनेमा जोड दिनुभयो ।

सहकारीपीडित, मिटरब्याजपीडित र चिकित्सलगायतको माग सम्बोधन गर्न सरकारले कुनै चासो नदेखाएमा असन्तुष्टी प्रकट गर्दै उहाँले भ्रष्टाचार नियन्त्रण गर्न उच्चस्तरीय शक्तिशाली छानबिन आयोग गठन गर्न माग गर्नुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रम र बजेटलाई यथार्थपरक र जनमुखी बनाउन आग्रह गर्नुभयो ।

सङ्घीय संसद्को वर्खे अधिवेशन खास अर्थमा देश र जनताका पक्षमा केन्द्रित होओस् भन्ने उहाँले कामना गर्नुभयो ।

यसैगरी नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले आन्दोलनरत शिक्षकको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ ।

युनियनका महासचिव अजयकुमार राईले आज एक विज्ञप्ति जारी गर्दै शिक्षक आन्दोलनको २३ दिन बितिसक्दा पनि सरकार पक्षबाट सार्थक संवाद वा समाधानको प्रयास नहुनु आपत्तिजनक भएको बताउनुभयो । युनियनले शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगित हुँदा विद्यार्थी र अभिभावक अन्योलमा परेको उल्लेख गरेको छ । युनियनले शिक्षकको आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दै वार्ता र संवादद्वारा समस्या समाधान गर्न सरकारसँग माग गरेको छ ।

शिक्षकको हक, अधिकार र शिक्षक पेसाको गरिमाका सन्दर्भमा नेपाल ट्रेड युनियन कांग्रेस सधँै शिक्षकका साथमा रहेको महासचिव राईले बताउनुभयो । शिक्षकसँग अविलम्ब वार्ता गरी काममा फर्कने वातावरण निर्माणमा लाग्न आग्रह गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर