
सिरहा, ४ बैशाख । गत पुस ९ गते सिरहाको नवराजपुर गाउँपालिका-३ जगतपुरस्थित फूलबरिया मुसहरी टोलकी आनन्दीदेवी सदायमाथि गाउँकै दुई युवकद्वारा यौन दुर्व्यवहार भयो। माइतीघरमा बस्दै आउनु भएकी आनन्दीदेवी दुई वर्षीय दुधेबच्चा च्यापेर बरियारपट्टि गाउँपालिका–१ नरगीमा बस्ने दिदी लक्ष्मीनियादेवी सदायलाई भेट्न हिँड्नु भएको थियो।
बाटोमै स्थानीय २२ वर्षीय सञ्जीव यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले बलात्कारको प्रयास गरे।
उहाँ त्यहाँबाट जसोतसो उम्केर पुनः माइतमै फर्किन त सफल हुनुभयो तर त्यस घटनाले बाँच्न भने दिएन। घटनाका दोषीमाथि कारबाहीको माग गरी किटानी जाहेरी दिएर पनि चार महिनासम्म न्यायका लागि भौतारिनुभयो। न्यायको आश मरेपछि अन्ततः मृत्यु नै अन्तिम विकल्प बनेर आयो।उहाँले मङ्गलबार माइती घरमै झुन्डिएर प्राण त्याग्नुभयो ।
‘घटना घटेको दिन आफूमाथि जबर्जस्ती करणीको प्रयास भएको भन्दै रुँदै र कराउँदै घर आएकी थिइन्,’ मृतककी भाउजू विनीतादेवी सदायले उक्त दिनको घटनाबारे भन्नुभयो, ‘उनको कम्मरमुनि सुरुवालको भाग धुजाधुजा पारी च्यातिएको थियो। हातको पाखुरामा चोट लागेको थियो। जीउको विभिन्न भागमा दाँतले टोकेको स्पष्ट डोबहरू थिए।’
आनन्दीदेवीलाई जबर्जस्ती करणीको प्रयास गर्ने दुई व्यक्तिले सुरुमा पैसा दिन्छौँ भन्दै ललाईफकाईसमेत गरेको उहाँको भनाइ छ। ‘तीन हजार पैसा दिन्छौँ हामीसँग हिँड् भनेपछि नन्दले इन्कार गर्दै प्रतिकार गरेपछि श्यामले हातपात गर्दै घिसार्दै नजिकै रहेको परालको कुन्यूँमा लगे, अर्का पीडक सञ्जीवले मोबाइलबाट भिडियो खिचे। नन्दले यो कुरा मलाई सुनाउनुभएको थियो। उहाँ प्रतिकार गर्दै त्यहाँबाट उम्केर जसोतसो नन्द घर आइपुग्नुभयो, त्यतिबेला दिउँसोको करिब १ बजेको हुँदो हो,’ भाउजू विनीतादेवीले भन्नुभयो।
प्रहरीद्वारा जाहेरी दर्ता गर्न आलटाल
घटना भएको दिन आनन्ददेवीका श्रीमान् उमेश सदाय ससुराली घरमै थिए। श्रीमतीमाथि घटना घटिसकेपछि सोही दिन अर्थात् पुस ९ गते श्रीमानसहित आनन्दीदेवीले महेशपुरस्थित पतारी प्रहरी चौकीमा आफूमाथि जबर्जस्ती करणीको प्रयास भएको भन्दै किटानी जाहेरी दिएका थिए तर प्रहरीले जाहेरी दर्ता गर्न आलटाल गरेको मृतक आनन्दीदेवीका श्रीमान् उमेशले बताउनुभयो।
उहाँले भन्नुभयो, ‘प्रहरीले सुरुमा जाहेरी दर्ता गर्ने र पीडकमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने आश्वासन दिएको थियो। यसको लामो समयसम्म प्रहरीबाट घटना सम्बन्धमा कुनै प्रतिक्रिया आएन। माघ ४ गते मात्रै प्रहरीले उक्त जाहेरी दर्ता भएको भन्दै एउटा कागजमा दर्ता नम्बरसहितको चिट दियो। फेरि त्यसको भोलिपल्ट पुनः कार्यालयमा बोलाएर उक्त दर्ता नम्बरको कागज हाम्रै सामुन्नेमा प्रहरी च्यातिदियो।’
यही क्रममा अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मानव अधिकारकर्मीहरूको समूहले मार्च ६ तारिखका दिन नवराजपुरमा एक सार्वजनिक कार्यक्रमको आयोजना गरेको थियो। उक्त कार्यक्रममा आफ्नो पीडा सुनाउन आनन्दीदेवी र उहाँकी आमा बिलटौनदेवी सदाय उपस्थित भए। महेशपुर पतारी प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक रबिन मैनालीसमेत उपस्थित उक्त कार्यक्रममा पीडित आनन्दीदेवीले प्रहरीले आफूमाथि भएको घटनाको जाहेरी दर्तासमेत नगरेको बताएको मानव अधिकारकर्मी मुक्ति नेपालका अध्यक्ष देवकुमारी महराले जानकारी दिनुभयो। त्यसपछि जिल्लास्थित मानव अधिकारकर्मीको संयुक्त टोलीले घटना सम्बन्धमा चासो राखी प्रहरीलाई दबाब दिएपछि मात्रै जाहेरी दर्ता भएको उहाँको भनाइ छ।
घटना सार्वजनिक भइसकेको, पीडितले न्यायका लागि गुहारिसकेको अवस्थामा पनि प्रहरी प्रशासनले त्यसलाई गम्भीर रूपमा नलिएकाले ज्यान गुमाउन बाध्य हुनु परेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपाल सिरहाका प्रतिनिधि दुर्गा परियार बताउनुहुन्छ। मानव अधिकारकर्मीको तीव्र दबाबका बीच पीडितलाई न्याय दिलाउन प्रहरीले उदासीनता देखाएको भए यस्तो अवस्था नआउने उहाँको बुझाइ छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख तथा प्रहरी उपरीक्षक अनन्तराम शर्माका अनुसार गत फागुन २५ गते उक्त घटना सम्बन्धमा जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको हो । किटानी जाहेरी दिएको ७५ दिनपछि मात्रै मुद्दा दर्ता भएको देखिएको र यो घटना आफू जिल्लामा आउनुअघिको भएकाले किन त्यसो भएको हो भनेर बुझ्नुपर्ने शर्माको भनाइ छ।
‘गत फागुन २५ गते यस घटना सम्बन्धमा पीडितका तर्फबाट जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको रहेछ। पीडकहरू फरार छन्। पीडितमाथि यौन दुर्व्यवहारपश्चात् प्रहरीले मेडिकल जाँच र जिल्ला अदालतबाट पीडकविरुद्ध पक्राउ पुर्जी जारी गर्ने काम समयमै गरेको पाइन्छ। हामी अनुसन्धानकै क्रममा छौँ। बुधबार पीडित परिवारलाई भेटेर जानकारीसमेत लिएका छौँ,’ प्रहरी उपरीक्षक शर्माले बताउनुभयो।
घटना मिलापत्रको प्रयास
कानुनअनुसार यस्तो घटनालाई मिलाउन पञ्चायती बस्न वा गाउँमै मिलापत्र गर्न मिल्दैन तर घटना मिलापत्र गर्न भन्दै पीडितलाई दबाब आएको परिवारले जनाएको छ। ‘प्रहरीले जाहेरी दर्ता गर्न आलटाल गरिरहेकै बेला घटनामा संलग्न व्यक्तिका आफन्त आएर रु एक लाख दिने र गाउँघरको घटना गाउँमै मिलाउनुपर्छ, बाहिर लैजानु हुँदैन भन्दै दबाब दिए। गरिबको पनि इज्जत हुन्छ। हामीलाई न्याय चाहिन्छ, पैसा होइन भन्ने जवाफ दियौँ तर न्याय पाइएन’ भावुक हुँदै मृतककी भाउजू बिनीतादेवीले भन्नुभयो।
यस्तै वडा नं ३ का अध्यक्ष वंशीलाल यादवले घटनामा जिम्मेवार निकायबाटै कमजोरी भएकाले पीडितले ज्यान गुमाउनु परेको भन्दै सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गर्नुभएको छ।
गृहमन्त्रीद्वारा घटनाको छानबिन गर्न निर्देशन
पीडित आनन्दीदेवी मङ्गलबार झुन्डिएर मृत फेला परेपछि घटनाको सूक्ष्म रूपमा छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरी प्रशासनलाई निर्देशन दिनुभएको छ । छन्। उहाँले घटनाबारे गम्भीर चासो व्यक्त गर्दै प्रहरी महानिरीक्षक दीपक थापालाई फोन गरी घटना सम्बन्धमा सत्यतथ्य छानबिन गर्न निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
यस घटनाका सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।