
काठमाडौ, ३० चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ दिल्लीको राजदूतावासमा आउनुभएको होइन, दिल्लीको राजदूतले उहाँलाई भेट्न जाँदा भएको कुरा हो आफ्नो कुराको खण्डन गर्नुभएको छ ।
आदित्यनाथले ‘हामी नेपालमा राजाको पक्षमा छैनौँ, यो बेकारको हल्ला हो, मेरो फोटो छापे पनि त्यो होइन भन्नुभएको हो’ भनेको तथ्य भने सही नै रहेको भन्दै ‘उहाँ दूतावासमा आउनुभएको होइन । यो पनि म खण्डन गर्न चाहन्छु,’ देउवाले भन्नुभयो ।
शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममाआफ्नो भनाई खण्डन गर्दै उहाँले केही दिनअघि भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबारे दिएको आफ्नै अभिव्यक्तिको खण्डन गर्ने क्रममा बताउनुभएको हो ।
‘अस्ति मैले बोल्दा गलत सूचनाको आधारमा भारतका उत्तर प्रदेशका मुख्यमन्त्रीको विषयमा बोल्न पुगेछु । त्यसमा भन्न चाहन्छु मैले,’ सभापति देउवाले भने,‘उहाँले दिल्लीको राजदूतावासमा आउनुभएको होइन, दिल्लीको राजदूतले उहाँलाई भेट्न जाँदा भएको कुरा हो।’
फागुन २५ गते पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतमा राजावादीले गरेको र्यालीमा योगी आदित्यनाथको तस्बिर समेत प्रदर्शन भएपछि दिल्लीस्थित नेपाली राजदूत शङ्कर शर्माले योगी आदित्यनाथलाई भेटेको परराष्ट्र स्रोतले जनाएको छ ।
नेपाली राजदूत शर्मासँग आदित्यनाथले आफ्नो राजावादी आन्दोलनसँग कुनै साइनो नभएको र पोजिसन पनि नभएको प्रतिक्रिया दिएका थिए।