बाजुरा, १४ चैत । यहाँको बूढीगङ्गा नगरपालिका–८ की रङ्गी नेपालीले ८९ वर्षको उमेरमा नागरिकता प्राप्त गर्नुुभएको छ ।

प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले नेपालीलाई आज नेपाली नागरिकता प्रदान गर्नुभयो । उहाँलाई पहिलेदेखि नेपाली नागरिकता दिलाउन प्रयास गरिएपनि कानुनी जटिलताका कारण नसकेको सो वडाका वडाअध्यक्ष रमेश रावलले बताउनुभयो ।

वडाअध्यक्ष रावलका अनुसार नेपालीको एक छोरीले विवाह गरेर गएपछि साहाराविहीन बन्नुभएकी उहाँ नागरिकता नहुँदा नगरपालिकाबाट प्राप्त सेवा सुविधाबाट वञ्चित हुनुपरेको थियो । वडाध्यक्ष रावलले ती वृद्धाको आफन्त कोही नभएपछि आफैँले सनाखत गरेर नागरिकता दिलाउन सहयोग गरेको बताउनुभयो ।

नागरिकता पाएपछि नेपालीले खुसी व्यक्त गर्नुभएको छ । आफ्नो सबै थोक नाताले भाई पर्ने रमेश रावल भएको प्रतिक्रिया उहाँले दिनुभयो । “वडा अध्यक्षके कारणले मैले आज नागरिकता पाएँ”, नेपालीले भन्नुभयो ।

उहाँको श्रीमान बितेको २२ वर्ष भएपनि हालसम्म कानुनी प्रक्रिया नपुगेपछि नागरिकताबाट बञ्चित हुनुभएको थियो । नेपाली नागरिक भएको र स्थायी बसोबास गर्दै आएकी वृद्धालाई कानुनी प्रावधान पुरा गरी आज नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिनुभयो ।

जिल्लाका दुर्गम बस्तीमा कतिपय नगारिकले समयमै नागरिकता नपाउँदा समस्या झेल्दै आएकाले प्रशासनमा वडाबाट सिफारिस भएर आएका नागरिकलाई कानुनी रूपमा समस्या नआउने गरी नागरिकता दिने गरेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

सोमंबुबिशु