गण्डकी, २३ फागुनः लायन्स क्लब इन्टरनेसनल फाउण्डेशनले बागलुङस्थित धौलागिरि आँखा अस्पताललाई रु ८० लाख ८० हजार नौ सय ३४ बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ ।

उक्त सहयोग परियोजनाको शुभारम्भसँगै बिहीबार क्लबका अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीले नेत्र ज्योति सङ्घ, बागलुङका अध्यक्ष विन्दुसागर राजभण्डारीलाई आँखा उपचारसम्बन्धी उपकरण हस्तान्तरण गर्नुभएको हो ।

निर्देशक बुर्लाकोटीले धौलागिरि क्षेत्रका बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङसहित गुल्मी र अर्घाखाँची जिल्लाका सर्वसाधारणलाई लक्षित गरी उक्त सहयोग परियोजना भित्र्याइएको बताउनुभयो । “आँखाका बिरामीका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले यी उपकरणहरु सहयोग गरिएको छ, यस क्षेत्रका बिरामीलाई उपचारका लागि पोखरा, काठमाडौँ जानुपर्ने बाध्यता अब कम हुनेछ”, उहाँले भन्नुभयो ।

निर्देशक बुर्लाकोटीले धौलागिरि आँखा अस्पतालको स्तरोन्नतिका लागि लाइन्स इन्टरनेसनका तर्फबाट आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले मानवीय सेवाका क्षेत्रमा लायन्स इन्टरनेसनले नेपालमा रु दुई अर्ब बढीको परियोजना सञ्चालन गरिरहेको जानकारी दिनुभयो । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ के नेपालको विशेष पहलमा धौलागिरि आँखा अस्पताललाई ती उपकरण सहयोग गरिएको परियोजना प्रमुख दुर्गा कुँवरले बताउनुभयो ।

उहाँले आफूहरुको अथक मेहनतबाट अस्पतालमा लाइन्स इन्टरनेसनल फाउण्डेशको सहयोग परियोजना आएको बताउनुभयो । “यो धौलागिरि क्षेत्रमा लायन्स इन्टरनेसनलले गरेको अहिलेसम्मकै ठूलो सहयोग हो, आधुनिक उपकरणको सहायताबाट बिरामीलाई गुणस्तीय सेवा दिन अस्पतालाई ठूलो मद्दत पुगेको छ”, उहाँले भन्नुभयो । हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा नेपाल नेत्र ज्योति सङ्घले विसं २०७७ देखि धौलागिरि आँखा अस्पताल सञ्चालनमा ल्याएको थियो ।

उक्त अस्पतालले शल्यक्रियालगायतका सेवा प्रदान गर्दै आएको सङ्घका जिल्ला अध्यक्ष राजभण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घले निःशुल्क आँखा उपचार शिविर पनि सञ्चालन गर्दै आएको छ । दक्ष चिकित्सकमार्फत अस्पतालबाट सेवा प्रदान भइरहेको भन्दै थप जनशक्तिको खाँचो रहेको अध्यक्ष राजभण्डारीले बताउनुभयो । अस्पतालले भवनलगायत पूर्वाधार व्यवस्थापनका कामलाई पनि अगाडि बढाएको छ ।

पोखराको हिमालय आँखा अस्पतालसँगको सहकार्यमा नियमित शल्यक्रियालगायत सेवा प्रदान गर्दै आएको जनाइएको छ । विसं २०४९ देखि सङ्घले धौलागिरि क्षेत्रमा आँखासम्बन्धी स्वास्थ्य सचेतना र उपचारमा अगुवाइ गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर