पोखरा (कास्की), ११ फागुनः पछिल्लो समय पोखरा महोत्सवमय बनिरहेको छ । एकपछि अर्को ‘महोत्सव’ले चलायमान बनिरहेको पोखरामा फागुन १५ देखि १८ गतेसम्म हुने १२औँ संस्करणको नेपाल साहित्यिक महोत्सवले पर्यटकीय नगरीमा अर्को रौनकता थप्दै छ । बुकवर्म फाउन्डेसनद्वारा आयोजित महोत्सवमा फेवाताल, माछापुच्छ्रे अन्नपूर्ण हिमशृङ्खलालाई साक्षी राखेर देश–विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकारलगायतले विचार मन्थन गर्दैछन् । महोत्सवमा साहित्यसँग जोडिएका सामाजिक, राजनीतिक, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि मन्थन हुँदैछ ।

पर्यटकीय राजधानी पोखरालाई पर्यटकको उत्कृष्ट गन्तव्य बनाउन फागुन ३ गते मात्र पोखरा महानगरपालिकाले पोखरा भ्रमण वर्ष २०२५ को घोषणा गरेको थियो । करिब २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ भएको घोषणालाई सार्थक बनाउन पनि पोखराले कुनै न कुनै गतिविधि गरेर पर्यटकलाई भित्र्याउनुपर्ने अवस्थामा यो महोत्सवले पनि पर्यटन प्रवर्द्धनमा थप भुमिका खेल्ने विश्वास व्यवसायीको छ ।

पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक एवं पर्यटन व्यवसायी गोपीबहादुर भट्टराईले नेपाल साहित्यक महोत्सवको १२औँ संस्करणले पोखरालाई थप पर्यटकमयी बनाउने विश्वास व्यक्त गर्नुभयो । “यस महोत्सवले साहित्य, संस्कृति र पर्यटनको संयोजनबाट पोखराको पहिचान विश्वभर फैलाउने र स्थानीय अर्थतन्त्रलाई मजबुत पार्न महत्त्वपूर्ण भूमिका खेल्ने छ”, उहाँले भन्नुभयो, “पोखराको प्राकृतिक सुन्दरता र सांस्कृतिक विरासतलाई पनि विश्वमा चिनाउँदै पर्यटन क्षेत्रलाई ज्ञान र सृजनात्मक यात्रासँग जोडेर थप ऊर्जाशील हुने यो राम्रो अवसर हो ।” उहाँले फेवा किनारमा हुने विचारमन्थनले राजनीति, विभिन्न जात, धर्म, भाषाभाषीको पहिचान र कला संंस्कृतिका बारेमा विषय उठान नयाँ र अग्रज पुस्ताबीचको समन्वयात्मक भूमिका पनि महोत्सवले खेल्ने बताउनुभयो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरा इभेन्ट नै इभेन्टको सहर भएको जनाउँदै लिटरेचर फेस्टिभलले पोखराको पर्यटनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पोखरामा केही न केही गतिविधि भइराख्छ, यसले पोखराको सांस्कृतिक धरोहर र साहित्यिक परम्परालाई विश्वभर चिनाउने मौका दिन्छ, जसले पर्यटकलाई नेपाली साहित्य र संस्कृति बुझ्न आकर्षित गर्छ ।” उहाँले पोखरा भ्रमण वर्ष २०२५ सफल बनाउन पनि यो एउटा कोशेढुङ्गा सावित हुने बताउनुभयो ।

पोखरा महानगरपालिका पर्यटन तथा सहरी विकास महाशाखा प्रमुख विमलरञ्जन कार्कीले पोखरा पर्यटन वर्ष घोषणा भइसकेको जनाउँदै अब १२औँ संस्करणले साहित्यिक महोत्सवले पोखरालाई थप गतिशील बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “पोखरा आफैँमा ‘चलायमान’ हो, एकपछि अर्को खेलकुद कला, साहित्यका महोत्सवले यहाँको पर्यटनलाई प्रवर्द्धन गर्ने विश्वास लिएका छौँ ।  ।

महोत्सवका सदस्य एवम पत्रकार भरत कोइरालले साहित्यसँग सम्बन्धित कार्यक्रमको आयोजना गर्दा पोखरा साहित्यिक पर्यटकको गन्तव्य बन्न थप मद्दत पुग्ने बताउनुभयो ।

कार्यकारी निर्देशक नीरज भारीका अनुसार यस वर्षको फेस्टिभलमा दुई सयभन्दा बढी साहित्यकार, कलाकार, पत्रकार र नेताको उपस्थिति रहने छ । फेस्टिभलमा ५० भन्दा बढी सत्र, अन्तरक्रियात्मक कार्यक्रम, साङ्गीतिक प्रस्तुति र रचनात्मक गतिविधि समावेश गरिने छन् । नेपाली अमेरिकी लेखक रञ्जन अडिगाको सहभागिता, ‘लिच एण्ड अदर स्टोरीज’ माथि उनी र भूषिता वशिष्ठबीच संवादसँगै प्राध्यापक महेन्द्र पी लामाको विद्वत प्रवचन, मनिषा कोइरालासँगको संवाददेखि राजेश हमालको पुस्तक लोकार्पणसम्मका चर्चित सत्र समावेश हुनेछन् । छ वर्षीया भूमिलक्ष्मीदेखि ८९ वर्षीय मोहनविक्रम सिंहसम्मको पुस्तकको चर्चाजस्ता साहित्य र समाजका विभिन्न पाटोहरूमा बहस विचारविमर्श हुनेछन् ।

निर्देशक अजित बरालले इभेन्टहरूको सहर पोखरामा लिटरेचर फेस्टिभलले सहरको संस्कृति र सभ्यता निर्माण र पर्यटन प्रवर्द्धनमा थप योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाल लिटरेचर फेस्टिभलले पोखराको सांस्कृतिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ, यसको प्रभावले पोखरालगायत अन्य सहरहरूमा पनि साहित्यिक गतिविधिको महत्व बढ्दै गएको साथै, साहित्य र पर्यटनबीच सँगसँगैको विकासले पोखरालाई अन्तरराष्ट्रियस्तरमा नयाँ पहिचान दिँदै गएको छ ।” उहाँले महोत्सव सफल बनाउन स्थानीय, प्रदेश र सङ्घ सरकारसँगै, निजी क्षेत्र एनसेल, पर्यटन व्यवसायी साहित्य अनुरागी, सङ्घसंस्था, सञ्चार जगत् सबैको साथ रहेको बताउनुभयो ।

उहाँका अनुसार साङ्गीतिक कार्यक्रममा प्रोजेक्ट सारङ्गी र सोनागी ब्लुजजस्ता समूहहरूले परम्परागत र समकालीन सङ्गीतको मिश्रण प्रस्तुत गर्ने छन् । यसले पोखराको साङ्गीतिक परम्परामा पनि नयाँ रङ्ग थप्ने छ । साथै लोक चित्रकारको चित्रकला प्रदर्शनीले संस्कृति र कलाप्रेमीलाई आकर्षित गर्नेछ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

सोमंबुबिशु