
युक्रेन, ५ फागुन । युक्रेनमा जारी युद्ध अन्त्य गर्ने उद्देश्य राखिएको अमेरिका रुसबीच हुने वार्तामा किएभलाई निमन्त्रणा नगरिएको एक वरिष्ठ युक्रेनी सरकारी स्रोतले बीबीसीलाई बताएको छ।
युक्रेनका लागि अमेरिकी विशेष दूत किथ केलगले साउदी अरबमा सोमवार हुने वार्तामा किएभ संलग्न हुने बताए तापनि सो स्रोतले कुनै युक्रेनी प्रतिनिधिमण्डल त्यहाँ उपस्थित नहुने जनाएको छ।
युरोपेली नेताहरूलाई समेत सो वार्तामा सहभागी हुन आग्रह गरिएको छैन।
बरु उक्त महादेशलाई नै वार्ताहरूबाट बाहिरै राखिने आशंकाहरू बढीरहँदा, युक्रेन युद्धबारे छलफल गर्न सोमवार नै फ्रान्सका राष्ट्रपतिले अपर्झट आयोजना गरेको सम्मेलनमा प्यारिसमा युरोपेली नेताहरूले भेटघाट गर्दैछन्।
यी छुट्टाछुट्टै बैठकहरू पछिल्लो उतारचढावपूर्ण हप्तापछि हुन लागेका छन्, जतिखेर वासिङटनले युक्रेन युद्धबारेको आफ्नो तौरतरिकामा ठूलो परिवर्तनको सङ्केत गरेको थियो।
ह्वाइटहाउसका मध्यपूर्व दूत स्टिभ विट्कफले द्वन्द्व अन्त्य गर्न अमेरिका र रुसबीचको पहिलो आमनेसामने वार्ताका लागि आइतबार साँझ साउदी अरब भ्रमण गर्न लागेको पुष्टि गरेका छन्।
आइतवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विट्कफले पुटिनसँग भेटिसकेको र त्यो ूनिकै लामो समय, लगभग तीन घण्टाूको भेट रहेको बताएका थिए।
अर्बपति घरजग्गा व्यवसायी तथा ट्रम्पका मित्र विट्कफ गतसाता, आफ्नो साथमा गाँजा राखेको कसुरमा रुसमा जेल परेका एक अमेरिकी शिक्षकलाई थुनामुक्त गर्न मस्को गएका थिए।
पुटिन ट्रम्प फोन वार्ता भएको एक साताभन्दा कम समयमै अमेरिकी विदेशमन्त्री मार्को रुबिओ र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज समेतले साउदी अरबमा रुसी वार्ताकारहरूसँग भेट्दैछन्।
गत बुधवार दुई राष्ट्रपतिहरूबीच भएको टेलिफोन वार्ताले मस्को र वाशिङ्टनबीच गत तीन वर्षदेखि प्रत्यक्ष सम्पर्क अवरुद्ध रहेको अवस्थाको अन्त्य गरेको थियो।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बारम्बार युक्रेनबिना वार्ता भएर गरिने शान्ति सम्झौतालाई स्वीकार नगर्ने बताउँदै आएका छन्।
अमेरिकी टेलिभिजन नेटवर्क एनबीसीसँग कुरा गर्दै आइतवार उनले ूयुक्रेनका बारेमा अमेरिका र रुसबीचको कुनै पनि निर्णयलाई आफूहरूले कहिल्यै नस्विकार्नेू बताए।
युरोपका नेटो नेताहरूले पनि आफूहरूबिना हुने जुनसुकै युद्धविराम सम्झौतामा वैधताको अभाव हुने बताएका छन्।
विट्कफले अमेरिकी अधिकारीहरूले अलग्गै युक्रेनी अधिकारीहरूसँग कुरा गरिरहेको र युक्रेन संवादको हिस्सा नै रहेको बताएका छन्।
तर उनले उनले साउदी अरबमा किएभको सहभागिता खोजिए(नखोजिएको बारे कुनै सङ्केत गरेनन्।
ट्रम्पले आइतवार फ्लोरिडाको पामबिचमा पत्रकारहरूसँग कुरा गर्दै उनले जेलेन्स्की वार्तामा संलग्न हुने अपेक्षा गरेको बताए तर त्यो कसरी हुनेछ भन्ने चाहिँ बताएनन्।
उनले युरोपेली देशहरूलाई युक्रेनका लागि अमेरिकी हतियार किन्न आफूले अनुमति दिने पनि बताए।
बीबीसीले उनलाई कतिखेर शान्ति वार्ता फलदायी हुने र लडाइँ अन्त्य गर्न सकिने विश्वास उत्पन्न भयो भनेर सोधेको थियो। जसको जबाफ दिने क्रममा ट्रम्पले ूहामी यो फत्ते गर्न लागिपरेका छौूँ भन्दै युद्धका लागि अघिल्लो प्रशासनको युक्रेन नीतिहरूलाई दोष लगाए।
यसैबीच विदेशमन्त्री रुबिओले साउदी अरबमा हुने वार्ताबाट धेरै अपेक्षा नगर्न भन्दै एउटा वार्ताले मात्र युद्ध अन्त्य नगर्ने बताएका छन्।
उनले युक्रेन, रुस र तेस्रो पक्षहरू बीच हुने औपचारिक वार्ता प्रक्रिया तय गर्ने काम अझै बाँकी रहेको बताए।
यद्यपि सीबिएस न्यूजसँग कुरा गर्दै उनले आउँदा केही दिनले के पुटिन शान्ति हासिल गर्नेबारे गम्भीर छन् भन्ने देखाउने बताए। बीबीसी