दमौली ९तनहुँ०, १६ माघ । राष्ट्रपति रामचन्द्रपौडेलले सहिदको बलिदानीका कारण नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएकाले सहिदले देखाएको बाटो भुल्न नहुने बताउनुभयो ।तनहुँको व्यास नगरपालिका–८ पुलिमराङस्थित सहिद पार्कमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले नेपाल चाँडै उन्नतिको बाटोमा अगाडि बढ्ने बताउनुभयो ।

नेपाली जनताको स्वतन्त्रता र प्रजातन्त्र स्थापनाका लागि सहिदको भूमिका अतुलनीय रहेको पौडेलको भनाइ थियो । उहाँले भन्नुभयो, “प्रजातन्त्र स्थापनाका लागि पुलिमराङको पनि महत्त्वपूर्ण भूमिका छ । विसं २००७ को क्रान्ति होस् या २०१८ सालको क्रान्तिमा यहाँका सहिदको बलिदानी महत्त्वपूर्ण रह्यो । पुलिमराङ सहिदको भूमि हो ।”

राष्ट्रपति पौडेलले पुलिमराङसम्म आउने बाटो छिट्टै कालोपत्र हुने बताउनुभयो ।

सहिद पार्कमा भरत गुरूङ, शमशेरबहादुर गुरूङ, लालध्वज गुरूङ, धर्मध्वज गुरूङ, सर्वसिंह गुरूङ, हस्तवीर गुरूङको लहरै अर्धकदको प्रतिमा रहेका छन् । यी सबै सहिद पुलिमराङमा जन्मिएका थिए । जसले राणाशासन र निर्दलीय पञ्चायती व्यवस्थाविरूद्धको आन्दोलनमा ज्यान गुमाए । सहिदपार्क बनाउन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पहल गर्नुभएको थियो ।

विसं २०५१ चैत २९ गते पुलिमराङ गाउँमा सौर्य परियोजना उद्घाटन गर्न आएका बेला कोइरालाको तदारूकतामा समिति बनेको थियो । विसं २०६६ मा सहिद स्मारक बनाएर छ जना सहिदको अर्धकदको शालिक राखियो । ती शालिकको एक दशकपछि अनावरण गरिएको थियो ।

यसैबीच तनहुँको व्यास नगरपालिका–८ पुलिमराङस्थित सहिद स्मारक कोष समितिले सहिद पार्कको विकासका लागि सहयोग गर्न राष्ट्रपति पौडेलसमक्ष आग्रह गरेको छ । समितिले यस क्षेत्रको समग्र विकासका लागि सरकारको ध्यानाकर्षण गराइदिन आग्रह गरेको हो ।

वृहत गुरूयोजनाअनुसार सहिद पार्कको सर्वाङ्गीण विकासका लागि रू १५ करोड बजेट आवश्यक पर्ने देखिएकाले बजेट विनियोजनका लागि भूमिका खेलिदिन पौडेल समक्ष आग्रह गरिएको समितिका अध्यक्ष एकबहादुर गुरूङले जानकारी दिनुभयो ।

सहिद स्मारक पार्क, पुलिमराङको वर्तमान अवस्थाका बारेमा राष्ट्रपति जानकार रहेको भन्दै उहाँले यहाँको विकास निर्माणअन्तर्गत पक्की बाटो, बिजुली बत्तीको गुणस्तरीय व्यवस्थापन, पर्यटकीय सम्भावना, कृषि एवं आयआर्जनका विषयमा स्थानीयलाई देखिनेगरी विकास निर्माणमा सरकारसँग सहयोग उपलब्ध गराउन पौडेलको ध्यानाकर्षण गराइएको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर