वैशाली (भारत), २१ पुस : भारतको विहारस्थित वैशालीमा बोलीचालीमा रहेको बज्जिका भाषाको संरक्षण तथा संवर्द्धनमा जोड दिइएको छ ।

सार्क जर्नालिष्ट फोरम, विहार च्याप्टरको संयोजनमा अम्रपाली कला साहित्य समाजले शनिबार यहाँ आयोजना गरेको अन्तर्राष्ट्रिय मातृभाषा सम्मेलनमा सरोकारवालाले यसको संरक्षणबाट उन्नत समाज निर्माणमा टेवा पुग्ने बताए । सो अवसरमा अन्तर्राष्ट्रिय भाषाविज्ञ डा सरिता बुधुले नेपालसँग भाषा र सांस्कृतिक सम्बन्ध अटुट रहेको औँल्याउँदै भाषाको लडाइँ अस्तित्वसँग जोडिएको बताउनुभयो । भाषालाई संरक्षण तथा संवर्द्धन गर्न स्थानीय जागरुक हुनुपर्नेमा जोड दिँदै उहाँले यसलाई संवैधानिकरूपमा सुनिश्चित गर्न आग्रह गर्नुभयो ।

भारतको पटना उच्च न्यायालयका पूर्वन्यायाधीश राजेन्द्र प्रसादले भाषाले उन्नत समाजका लागि बौद्धिक ज्ञान आदानप्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै यसको संरक्षण सबैको साझा दायित्व भएको बताउनुभयो ।

सामाजिक अभियन्ता बरुण सिंहले नेपालको मैथली भाषासँग मिल्दोजुल्दो भाषाका रुपमा बज्जिका भाषा रहेको जानकारी दिँदै भाषा संस्कृति र सभ्यताको परिचय भएको बताउनुभयो ।

विहार हिन्दी साहित्य सम्मेलन पटनाका अध्यक्ष डा अनिल सुलभले बज्जिका भाषामा व्याकरणको विकास हुन नसकेको उल्लेख गर्दै मातृ भाषाको मूल्य, मान्यता अन्य भाषाभन्दा फरक रहेको धारणा व्यक्त गर्नुभयो । सार्क जर्नालिष्ट फोरम, विहार च्याप्टरका अध्यक्ष शशिभुषणले बज्जिका भाषाका बारेमा विस्तृत जानकारी दिँदै यस भाषालाई संविधानमा सूचीकृत गर्न पहल गरिएको बताउनुभयो ।

सार्क जर्नालिष्ट फोरम, नेपाल च्याप्टरका संयोजक रुद्र सुवेदी, नेवाः पत्रकार मञ्चका नृपेन्द्रलाल श्रेष्ठ, सुनिल मर्हजन, आरिफ अन्सारीलगायतले भाषाको विकासबाट पत्रकारितामा समेत टेवा पुगेको बताउनुभयो । विहार क्षेत्रमा महत्व बेग्लै रहेको बज्जिका भाषा नेपालको जनकपुरलगायत स्थानमा बोलिने यहाँका भाषासम्बन्धी जानकारहरूले बताएका छन् । सो सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, थाइल्याण्ड र मरिससका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो । सो अवसरमा सम्मेलनमा सहभागी नेपालका सञ्चारकर्मीहरूलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर