
काठमाण्डौ, ६ पुस । जनकपुर बोल्टस नेपाल प्रिमियर लिग (एनवपीएल) को च्याम्पियन बनेको छ । आज शनिबार काठमाण्डौंको त्रिवि मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै जनकपुर यो प्रतियोगिताको च्याम्पियन बनेको हो ।
निकै रोमान्चक र प्रतिष्पर्धापूर्ण रहेको आजको खेलमा सुदुरपश्चिमले दिएको १८५ रनको चुनौतिपूर्ण लक्ष्य जनकपुरले अन्तिम ओवरको चार बल बाँकी छँदै पूरा गर्यो र एनपिएलको पहिलो उपाधि प्राप्त गर्यो ।
यो उपाधिसँगै जनकपुरले १ करोड १० लाख नगद पनि प्रप्त गरेको छ । जनकपुरलाई यो जित हात पार्न ओपनर मिलन्थाको महत्वपूर्ण योगदान रह्यो । उनले ४९ बलमा सर्बाधिक ८७ रन बनाए ।
यस अघि टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिम रोयल्सले नौ विकेटको क्षतिमा जनकपुर बोल्ट्सलाई १ सय ८५ रनको लक्ष्य दिएको थियो । यसमा सैफ अली जैबले सर्धिक ६९ रन बनाएका थिए । ओपनर जैबले ४३ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गरेका थिए । त्यसै गरी सुदूरपश्चिमका अर्का ओपनर विनोद भण्डारीले ३१ बल खेल्दै १ चौका र ३ छक्का मदतमा ४१ रन बनाएका थिए ।
ओपनरले राम्रो सुरुवात दिलाए पनि सुदूरपश्चिमका अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । सुदूरपश्चिमले अन्तिम दुई ओभर भित्र ५ विकेट गुमाएको थियो ।
उपाधि विजेता जनकपुर पहिलो क्विफायर खेलमा सुदूरपश्चिमसित हारेको थियो ।