काठमाण्डौं , ६ पुस । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको फाइनल खेल शुरु भएको छ । यस फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस् भिड्दैछन् ।
टस जितेको सुदूरपश्चिम रोयल्सले जनकपुरलाई फिल्डिङमा पठाएर आफूले ब्याटिङ गरेको छ । सुदूरपश्चिमको टिम दीपेन्द्र सिंह ऐरीको कप्तानीमा छ भने जनकपुर आसिफ शेखको कप्तानीमा मैदानमा छ ।
यो प्रतियोगिता नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिता हो । प्रतियोगितामा विभिन्न ८ फ्रेन्चाइज टोली सहभागी थिए । जसमध्ये सुदूरपश्चिम र जनकपुर बोल्टस् फाइनल पुगेका हुन् ।
पहिलो क्वलिफायर म्याचमा सुदूरपश्चिमले जनकपुरलाई हराएको थियो । दोस्रो क्वलिफायरमा कर्णालीलाई हराएर जनकपुरले फाइनलमा स्थान बनाएको हो ।
लिग चरणदेखि नै यी दुबै टिम एक आपसमा अब्बल देखिएका छन् । अन्तिम खेलमा कसले बाजी मार्छ अत्यन्त उत्सुकता छ । त्यसैले पनि खेल हेर्न बिहानैदेखि त्रिवि क्रिकेट मैदान दर्शक भरिएको छ । दर्शकहरु आफ्नो आफ्नो टिमको सपोर्टमा विभिन्न थरिका प्लेकार्ड लिएर उत्साह जगाउँदै छन् ।
