काठमाण्डौं, ६ पुस । नेपालमा पनि मंकीपक्सको संक्रमित भेटिएका छन् । यो रोगका संक्रमित भेटिएपछि सरकारले नागरिकलाई सचेत रहन आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ : मंकीपक्सको मिल्दोजुल्दो लक्षण देखिए तत्काल अस्पताल जान र चिकित्सकको उचित सल्लाह लिन अबेर नगर्नू ।
काठमाण्डौंको शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा परीक्षण गर्दा तनहुँका ३६ वर्षीय पुरूषमा मंकीपक्स संक्रमण पुष्टि भएको पाइएको थियो ।साउदी अरेबियाबाट फर्किएका ती पुरुष जिउमा खटिरा आएपछि अस्पताल स्वस्थ्य परीक्षणका लागि अस्पताल गएका थिए।
मन्त्रालयका अनुसार तर ती संक्रमित बिरामीको स्वास्थ्य स्थिति भने समान्य छ ।
मंकीपक्सको संक्रमण हुँदा मानिसमा ज्वरो आउने, ज्वरो सुरु भएको १ देखि ३ दिन भित्रमा छाला, अनुहार, हत्केला, र पैतालामा डाबर देखापर्ने, डाबर परिवर्तन भइ फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रंथिहरु बढ्ने, आँखामा संक्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जाने हुन्छ ।
मन्त्रालयका अनुसार मंकीपक्स संक्रमित व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा सर्छ। त्यस्तै विमारीको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थ जस्तै थुक, र्यालको सम्पर्कबाट, भाइरसबाट दुषित सतह र सामग्रीको प्रत्यक्ष, संक्रमित बाँदर, मुसा, लोखर्के लगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो रोग सर्छ ।
मन्त्रालयले विज्ञप्तिमार्फत् जानकारी गराएको छ : यसको रोकथामका लागि मंकीपक्सक शंका वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, संक्रमित व्यक्तिलाई घर वा अस्पतालमा आइसोलेसनमा राख्ने, संक्रमित व्यक्तिको हेरचाह गर्नेले पूर्ण रुपमा जनस्वास्थ्यका मापदण्डहरु पालना गर्ने, घाउँसँग प्रत्यक्ष सम्पर्क हुनसक्छ भन्ने जोखिम छ भने पन्जा लगाउने, नियमित रुपमा साबुनपानीले हात धुने वा स्यानीटाइजरको प्रयोग गर्ने, संक्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाँडाहरु तातो पानी, साबुन वा डीटर्जेन्टले धुने, मंकीपक्सको संक्रमण पुष्टि भइ बिरामी भएका वा मरेका जनावरको सम्पर्कमा नजाने, संक्रमितको सम्पर्कमा आएको व्यक्तिले परीक्षण गर्ने, संक्रमितको सम्पर्कमा आएको सतह स्थान वा कोठा डीटर्जेन्टले निसंक्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने, फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्ने कार्य गर्नु पर्दछ।
मिल्दाजुल्दा लक्षण देखिए मन्त्रालयको हेल्लो स्वास्थ्य कल सेन्टर ‘१११५’ मा सम्पर्क गरी परामर्श लिनसमेत मन्त्रालयले सबैमा आग्रह गरको छ।