
काठमाण्डौं, ४ पुस । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले यही पुस ५ गतेबाट थप सदस्यता वितरण गर्ने भएको छ । संघले यस कार्यकोलागि एक सय १३ क्याम्पसमा केन्द्रीय प्रतिनिधिसमेत तोकेको छ।
संघका अध्यक्ष दुजाङ शेर्पाले १२ औं महाधिवेशनको प्रारम्भिक चरणका रूपमा सदस्यता वितरण गर्न क्याम्पसहरूमा केन्द्रीय प्रतिनिधि तोकेको बताउनु भएको छ ।
विगत लामो समयदेखि नेविसंघको महाधिवेशन हुन सकेको छैन। यो संस्था तदर्थवादमा चलिरहेको छ ।
अध्यक्ष शेर्पाको भनाई छ : राष्ट्रव्यापी सदस्यता वितरण तथा सुझाव संकलन कार्य पुस ५ गतेदेखि सुरू हुन्छ र चैतभित्रै नेविसंघको १२ औं महाधिवेशन पनि गरिन्छ ।
हाल नेविसंघमा ७१० जना केन्द्रीय सदस्य छन् । तिनै केन्द्रीय सदस्यहरूलाई नै क्याम्पसहरूमा पुगेर सदस्यता वितरण र सुझाव संकलन गर्ने जिम्मेवारीसहित केन्द्रीय प्रतिनिधि तोकिएको हो।
उता नेविसंघको अर्को पक्षले भने थप सदस्यता वितरणको लागि केन्द्रीय प्रतिनिधि तोक्ने अध्यक्ष शेर्पाको यो निर्णयको विरोध गरेको छ।