दमौली, ४ पुस । पृथ्वी राजमार्गको पोखराको सेतीपुलदेखि तनहुँको जामुने बजारसम्मको अवरोध हटेको छ ।
यस राजमार्गको पोखरा-मुग्लिन सडकमा भैरहेको विस्तार र स्तरोन्नति कार्यको कारण त्यो खण्डमा गत मङ्सिर २८ देखि बिहान ८ बजे देखि साँझ ६ बजेसम्म सवारी आवागमन बन्द गरिएको थियो ।
हिजो बुधबारबाट अबरोध हटेको र यातायात संचालन भएको जानकारी जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी अशोक थापाले दिनुभएको छ ।
उहाँले बताउनुभयो : “पाेखरादेखि कोत्रेखोलाको पुलसम्म स्तरोन्नति कार्य भइरहेकाले सडक प्रयोगकर्तालाई हुन सक्ने जोखिम तथा यातायात आवागमनमा समेत बाधा पर्न जाने देखिएकोले पाँच दिन बन्द गरिएकोमा बुधबारबाट सो बन्द हटाइएको छ ।”
सवारी यातायातको अवरोध हटेपछि यात्रुलाई आवतजावतका लागि सहज भएको छ ।