कुस्मा, ४ पुस । मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी खण्डको स्तरोन्नतिको कामले ठेक्का अवधी सकिएको दुई बर्षपछि बल्ल गति लिएको छ । यो सडकखण्ड राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्छ तर पनि ठेकेदारको हेलचक्र्याइकाे कारण हसरल्ल थियो ।

सडकको यो खण्ड विसं २०७९ साउनमा दुई वर्षमा सक्ने गरी ठेक्का दिइएको थियो ।  निर्माण कम्पनीको ढिलासुस्तीका कारण काम सम्पन्न हुन सकेको थिएन। करिब दुई हजार २०० मिटर दूरीको उक्त सडकखण्ड समयमा कालोपत्र नहुँदा जनगुनासो बढेको थियो।

आयोजना कार्यालयले ठेक्का तोड्ने चेतावनी दिएपछि निर्माण कम्पनीले काम  अगाडि बढाएका  हो । अब यो काम सक्न आउँदो चैतसम्मलाई म्याद थप गरिएको छ।

पुनः काम सुरु भएयता कालोपत्रका लागि पूर्वाधार तयारीको काम पूरा भएको छ।

पर्वतस्थित लोकमार्ग आयोजना कार्यालयका इन्जिनियर किरण सुवेदीले जनगुनासो सम्बोधनका लागि स्तरोन्नतिका काम धमाधम अगाडि बढाइएको र अब कालोपत्रका लागि ‘प्लान्ट’ राख्ने काम भइरहेको बताउनु भयो।

उहाँका अनुसार आगामी माघभित्र सडक कालोपत्रको काम सम्पन्न हुने गरी प्रक्रिया अगाडि बढेको छ भने नाली, पर्खाल, कल्भर्टलगायत काम करिब छन्।

यो प्रदेश राजधानी पोखरा जोड्ने मुख्य सडक हो। पर्यटकीय राजधानीसमेत रहेको पोखरा प्रवेश गर्ने मुख्य सडकमार्गमा धुलो र हिलोको समस्या हुँदा समस्या भएको भन्दै स्थानीय आक्रोसित छन्। त्यसैले छिटो सडक स्तरोन्नतिको माग गर्दै  स्थानीयले पटकपटक दबाबमूलक कार्यक्रम गर्दै आएका थिए।

इन्जिनियर सुवेदीले कालोपत्रका लागि अन्तिम तयारी भइरहेकाले अब उक्त समस्या सधैँका लागि अन्त्य हुने जानकारी दिनुभयो।

पोखराको जिरो किमीदेखि हरिचोक र याम्दीदेखि फेदीसम्मको सडक तीन वर्षअघि नै कालोपत्र गरिएको थियो।

पश्चिमतर्फ पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुम पूर्वलगायत जिल्लाबाट लोकमार्ग हुँदै दैनिक सयौँ सवारीसाधन पोखरा आउजाउ गर्छन्।

प्रतिक्रिया

सम्बन्धित खवर