
काठमाण्डौँ, ३ पुस । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगिताको आज बुधबार भएको पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगेको छ ।
त्रिवि मैदानमा भएको यस खेलमा सुदूरपश्चिमले जनकपुरलाई ८ विकेटले हराएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले १४० रनको मध्यम चुनौती दिएको थियो ।त्यो चुनौती सुदूरपश्चिमले १८.३ ओभरमै २ विकेटको क्षतिमा सहजै पूरा गर्यो ।खेलमा विनोद भण्डारीले ५५ बलमा अविजित रहँदै ५८ रन जोडे । त्यस्तै सैफ जैबले ३२, ब्रान्डन म्याकमुलेनले २५ तथा कप्तान दिपेन्द्र सिंह ऐरीले १६ बलमा अविजित रहँदै २० रन बनाए ।
यसअघि जनकपुरले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १३९ रन बनाएको थियो । त्यसमा जेम्स नीशमले सर्वाधिक २३ बलमा ४५ रन बनाएका थिए ।
लिग चरणमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो ।
अब विजेता सुदूरपश्चिमले फाइनलमा उपाधिका लागि शनिबार दोस्रो क्वालिफायरको विजेतासँग खेल्नेछ ।
दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित हुने टिम जनकपुरले इलिमिनेटर खेलको विजेता कर्णाली याक्स बिहीबार मध्यान्ह भिड्ने छन् ।
कर्णालीले आजै भएको इलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको छ ।
जनकपुर र कर्णाली बीचको दोस्रो क्वालिफायर खेल बिहीबार मध्यान्ह १२ बजे शुरु हुनेछ ।