काठमाण्डौँ, ३ पुस । संघीय संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालाविरुद्ध सहकारी ठगी कसुरमा पक्राउ पुर्जी जारी भएको छ ।
मोरङको धनपालथान–३ मा स्थित उमा–गौरी कृषि सहकारीको बचत अपचलनमा संलग्न देखिएपछि मोरङ जिल्ला अदालतले मंगलबार पक्राउ पुर्जी जारी गरेको हो ।
इलाका प्रहरी कार्यालय रंगेलीले गरेको अनुसन्धानमा सकहारीको रकम अपचलनमा कोइरालासमेत संलग्न देखिएपछि २६ जनाविरुद्ध साढे २२ करोड बिगो र ८ वर्ष कैद मागदाबी गरेर जिल्ला अदालतमा गत बिहीबार मुद्दा दायर गरिएको थियो। त्यसअनुसार पहिले पक्राउ परेका एक जनाबाहेक कोइरालासहित २५ जनाविरुद्ध अहिले अदालतबाट पक्राउ पुर्जी जारी भएको हो ।
उक्त सहकारी ठगीमा मंसिर २७ मै कोइरालासहित २६ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ।
सो सहकारी एमाले नेता पोखरेलको पहलमा स्थापना गरिएको हो । पोख्रेलकी पत्नी कोइराला सो सहकारीको सञ्चालक समितिमा हुनुहुन्थ्याे । उहाँ २०७२ देखि २०७८ सम्म सञ्चालक समितिको सदस्य रहनु भएको थियो । कोइरालाकै विशेष पहल र हस्ताक्षरसहितको निर्णयको आधारमा सहकारीले बुटवलस्थित आरएसडीसी लघुवित्तबाट ११ करोड ५६ लाख ऋण लिएको थियो ।
उक्त ऋण नतिरेपछि लघुवित्तले नै कोइरालालगायत निर्णयकर्तालाई कालोसूचीमा राखेको छ । सहकारी संकटमा परेपछि कोइरालाले २०७८ माघ ५ मा राजीनामा दिएको बताईएको छ ।
उजुरीमा कोइरालाको नाम भए पनि प्रदेश सहकारी रजिस्ट्रार कार्यालयले सहकारीका अन्य १० जनामाथि मात्र अनुसन्धान गर्न प्रहरीलाई पत्र पठाएको थियो । त्यसपछि राजनीतिक दबाबमा कोइरालाको नाम हटाइएको भन्दै लगातार प्रश्न उठ्दै आएको थियो ।