
काठमाण्डौं, ३ पुस । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियाेगिता अन्तर्गत आज बुधबार इलिमिनेटर र पहिलो क्वालिफायर गरी खेल हुँदैछन् ।
इलिमिनेटरको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ भने पराजित हुने टिम बाहिरिने छ । त्रिवि रंगशालामा हुने यस खेलमा शीर्ष चारको तेस्रो र चौथो स्थानमा रहेका दुई टिम चितवन राइनोज र कर्णाली याक्स भिड्ने छन् ।
खेल बिहान ९ बजे शुरु हुँदैछ ।
आजै हुने दोस्रो खेल सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सका बीच हुनेछ । यी दुई मध्येको विजेता टिम फाइनलमा पुग्नेछ । योे खेल दिउँसो १ बजे हुँदैछ । सुदूरपश्चिम रोयल्स १२ अंकसहित शीर्ष स्थानमा र जनकपुर बोल्ट्स १० अंकबाट दोस्रो स्थानमा रहेको छन् ।
आजको क्वालिफायरमा हार्ने टिम र इलिमिनेटरको विजेताबीच फाइनलमा पुग्नको लागि पुनः अर्को क्वालिफायर प्रतिष्पर्धा हुनेछ ।
त्यो खेल बिहीबार दिउँसो १२ः१५ बजे शुरु हुनेछ ।
यो प्रतियोगिताको फाइनल खेल आगामी शनिबार १२ः१५ बजे नै हुने छ ।
आठ टिमले सहभागी भएको यो एनपीएल टी–२० क्रिकेट प्रतियोगिताको विजेताले एक करोड १० लाख रुपैयाँ प्राप्त गर्ने क्यानले जनाएको छ ।
क्यानका अनुसार उपविजेता टिमले ५१ लाख, तेस्रो हुने टिमले २५ लाख र चौथो हुने टिमले १५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
नेपाल प्रिमियर लिगको यो प्रतियोगिता गत मंसिर १५ गते शुरु भएको थियो ।