वीरगञ्ज (पर्सा), २४ मङ्सिर : सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहनुभएका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेललाई बयानका लागि पर्सामा ल्याइएको छ ।

वीरगञ्जको सानो पाइला सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानका लागि आज लामिछानेलाई पोखराबाट हवाई उडानमार्फत पर्सामा ल्याइएको हो । प्रहरीले सभापति लामिछानेलाई आज पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सिमरा विमानस्थलसम्म हवाई उडानमार्फत ल्याइएको हो ।

पर्सा प्रहरीले लामिछानेलाई सिमराबाट भने सवारीसाधनमा राखेर पर्सा ल्याएको हो । गत मङ्सिर १९ गते पर्सा जिल्ला अदालतले सानो पाइला सहकारी ठगी प्रकरणमा सभापति लामिछानेसहित १४ जनाको नाममा पक्राउ पुर्जी जारी गरेको थियो । सो पक्राउ पुर्जीको आधारमा थप अनुसन्धानको लागि लामिछानेलाई पर्सा ल्याइएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले आज बेलुकीपख लामिछानेलाई थप अनुसन्धानको लागि पर्सा ल्याइएको जानकारी दिनुभयो । “रास्वपाका सभापति लामिछानेलाई सानो पाइला सहकारीको विषयमा थप अनुसन्धानको लागि पर्सा जिल्ला ल्याइएको हो”, उहाँले भन्नुभयो, “आवश्यक कानुनी प्रक्रिया पूरा गरेर सरकारी वकिलको कार्यालयमा बयानका लागि लैजानेछौँ ।”

यसैबीचमा रास्वपाका सभापति लामिछानेलाई वीरगञ्ज ल्याउने क्रममा रास्वपाका कार्यकर्ताले सिमरा र वीरगञ्जमा विरोध प्रदर्शन गरेका थिए । पर्सा प्रहरीले सानो पाइला सहकारी प्रकरणमा जोडिएका गोर्खा मिडिया तत्कालीन उपाध्यक्ष छविलाल जोशी बन्जाडे र रामबहादुर खनाललाई स्थलमार्गबाट आइतबार मध्यरातमा पर्सामा ल्याइएको जानकारी दिनुभयो ।

सरकारी वकिलको कार्यालयमा आज जोशी र खनालको बयान कार्य भइरहेको छ । पर्सा जिल्ला अदालतले गत मङ्सिर १९ गते रास्वपाका सभापति लामिछाने, गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशीसहित १४ जनालाई पक्राउ गरेर अनुसन्धान गर्नका जिल्ला प्रहरी कार्यालय पर्सालाई अनुमति दिएको थियो ।

तत्कालीन समयमा लामिछाने प्रबन्ध निर्देशक रहेको समयमा सानो पाइला सहकारीबाट करिब रू आठ करोड रकम गोर्खा मिडिया नेटवर्कमा गएको बताइएको छ । कास्की, रूपन्देही, काठमाडौँ र चितवन जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेर जिल्ला–जिल्लामा बयान लिने क्रम जारी छ ।

मानवअधिकार आयोगद्वारा अनुसन्धान सुरु
मानवअधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सभापति रवि लामिछानेमाथि प्रहरीले गरेको दुव्र्यवहारबारे अनुसन्धान सुरु गरेको छ ।

सहकारी प्रकरणमा अनुसन्धानको क्रममा हिरासतमा रहनुभएका पूर्वगृहमन्त्री रवि लामिछानेलाई चितवनबाट कास्की लैनाने क्रममा अमानवीय व्यवहार गरेको र मानवअधिकार हनन् भएको भन्दै आयोगमा उजुरी परेको थियो । उजुरीमा उल्लेख भएअनुसार मध्यरातमा कास्की लैजाने क्रममा प्रहरी महानिरीक्षकको आदेशले लामिछानेमाथि अमानवीय व्यवहार गरेको विषयमा अनुसन्धान सुरु गरेको आयोगले आज विज्ञप्तीमार्फत जनाएको छ ।

“उक्त घटनाबारे आयोगको केन्द्रीय कार्यालयमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङसहितको प्रहरी उच्चअधिकारीसँग आज आयोगले जानकारी लिएको छ”, विज्ञप्तीमा भनिएको छ । यस सम्बन्धमा निष्कर्षमा पुग्न प्रहरी महानिरीक्षकसँग थप बुझुनुपर्ने भएकाले आयोगले अनुसन्धान जारी राखेको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर