मनहरी (मकवानपुर), १७ मङ्सिरः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षमा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी विजयी हुनुभएको छ । आइतबार भएको उपनिर्वाचनमा तिवारीले दुई हजार ६३ मत प्राप्त गर्दै विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत अवनी मैनाली भट्टराईले जानकारी दिनुभएको छ ।
तिवारीका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का रबिकुमार प्रधानले एक हजार पाँच सय ६० मत प्राप्त गर्नु भयो ।
साथै नेपाल कम्युनिष्ट पार्टी (एमाले) राजेश नगरकोटीले एक हजार तीन सय ९८, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेमबहादुर भोलनले एक सय ७८, राष्ट्रिय स्वतन्त्र पार्टीका आशा विर बलले ८३, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का बलराम बलले ७३ र मङ्गोल नेशनल अर्गनाइजेसनका दीपा लामाले ३२ मत प्राप्त गर्नुभएको छ ।
विसं २०७९ को निर्वाचनमा तिवारी माओवादी केन्द्रका ललितबहादुर घलानसँग ३१ मतले पराजित हुनुभएको थियो ।
कञ्चनपुरको भीमदत्त–६ मा कांग्रेसका चन्द विजयी
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा उहाँले एक हजार एक सय सात मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।
चन्दका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बहादुर चन्दले चार सय ८७ मत प्राप्त गर्नुभयो । साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशीलकुमार भट्टले तीन सय ६९, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का जितन्द्रबहादुर चन्दले दुई सय २५, राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्टले दुई सय १८ मत प्राप्त गर्नुभयो ।
साथै स्वतन्त्र उम्मेदवार थानेश्वर लेखकले एक सय ४२ मत प्राप्त गर्दा नागरिक उन्मुक्ति पार्टीका हरिष डगौराले एक सय २७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नारा राम कोलीले एक सय २२, स्वतन्त्र उम्मेदवार युवराज चन्दले ९९, राष्ट्रिय प्रजातन्त्र पार्टी नपालका दिलबहादुर धामीले २४, नेपाल मजदुर किसान पार्टीका दलबहादुर बोहराले १२ र जनमत पार्टीका यादव बहादुर चन्दले पाँच मत प्राप्त गर्नुभयो ।
तेह्रथुमको लालिगुँरास–८ मा कांग्रेसका लिम्बु विजयी
तेह्रथुमको नगरपालिका वडा नं ८ को अध्यक्षमा नेपाली कांग्रेसका नगेन्द्र लिम्बु निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा उहाँले चार सय ४० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत भीम निरौलाले जानकारी दिनुभयाे ।
लिम्बुका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बुद्धबहादुर लिम्बुले तीन सय ६० मत प्राप्त गर्नुभयो । साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सञ्जिव खड्काले ३८, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कुमार विश्वकर्माले २६, राष्ट्रिय प्रजातन्त्र पार्टीका रत्न बहादुर श्रीपालीले चार, स्वतन्त्र उम्मेदवार वसन्त लिम्बुले चार र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का प्रेमबहादुर खड्काले दुई मत प्राप्त गर्नुभएको छ ।
विसं २०७९ को निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित नेपाली कांग्रेसका तेजमान लिम्बुको २०८० साल चैत २९ गते निधन भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन भएको हो ।