गण्डकी, २ कात्तिक : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाटै आज प्रहरीले पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेलाई नियन्त्रणमा लिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा उहाँविरुद्ध अनुसन्धानका लागि पक्राउ गर्न कास्की जिल्ला अदालतले नेपाल प्रहरीलाई अनुमति दिएको थियो । सभापति लामिछानेलाई पक्राउ गर्न पुर्जी लिएर प्रहरी टोली पार्टी केन्द्रीय कार्यालय आएको थियो । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

पक्राउ पर्नुअघि पार्टी कार्यालयमा उपस्थित कार्यकर्ता र सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सभापति लामिछानेले आफूले कुनै अपराध नगरेको र न्यायिक प्रक्रियालाई सघाउने बताउनुभयो । उहाँले आफूलाई पक्राउ गरेको घटनालाई देशको आशा र भरोसामाथि प्रहार भएका रुपमा लिएको जिकिर गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न भएको आरोपमा थप अनुसन्धान गर्न प्रहरीले आज पक्राउ गरेको छ ।

उहाँलाई जिल्ला अदालत कास्कीको अनुमतिमा प्रहरीले पक्राउ गरेको हो । सभापति लामिछानेलाई अनुसन्धानका लागि कास्की ल्याइने नेपाल प्रहरी केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

उक्त सहकारी संस्थाको रु एक अर्ब ५० करोड ९० लाख ३० हजार पाँच सय तीन अपचलन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार विसं २०७२ देखि नै उक्त सहकारीको रकम अपचलन हुँदै आएको थियो । रकम अपचलनका मुख्य आरोपी सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जिबी राई)सँग मिलेर गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोपमा सभापति लामिछानेमाथि यसअघि कास्की जिल्ला अदालतमा मुद्दा परेको थियो ।

सोही मुद्दाका अर्का आरोपी छविलाल जोशी पनि अनुसन्धानका क्रममा प्रहरी हिरासतमा हुनुहुन्छ । सहकारी ठगीका मुख्य आरोपी राई भने अझै फरार हुनुहुन्छ । सूर्यदर्शन सहकारीपीडित सङ्घर्ष समितिले पूरक अनुसन्धान गरिपाउँ भन्दै विसं २०८० माघमा जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएका थिए । उन्नाइस जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएकामा पूर्वसञ्चालक शिवबहादुर गुरुङ, भविश्वर अर्याल, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वउपाध्यक्ष कैलाश दर्लामीलगायत पूर्पक्षका लागि थुनामा छन् ।

राईसहित उहाँका दाजु भूपेन्द्र, व्यवस्थापक थानबहादुर बुढा, सञ्चालक धीरजकुमार दास, हेमन्त अधिकारीलगायत अझै फरार छन् । सहकारीको रकम अपचलन सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले पनि सभापति लामिछानेसहितलाई सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको भन्दै कारबाहीका लागि सिफारिस गरेको थियो ।

सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धान हुने

लामिछानेलाई सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा अनुुसन्धान हुने जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुुमार शर्माले नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोलाई गर्नुुभएको पत्राचारमा कृष्णप्रसाद जैसीसमेतको जाहेरी तथा प्रहरी प्रतिवेदनले वादी नेपाल सरकार प्रतिवादी सूूर्यदर्शन बचत तथा ऋण सहकमारी संस्था लि पोखराका पूर्वअध्यक्ष एवं सञ्चालक गितेन्द्रबाबु राईसमेत भएको सहकारी ऐनले परिभाषित ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुुद्दा अनुसन्धानका सिलसिलामा सम्मानित कास्की जिल्ला अदालतबाट आजै पक्राउ अनुुमति जारी भएको उल्लेख गर्दै लामिछानेलाई पक्राउ गरी यस कार्यालयमा पठाइदिन अनुरोध गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर