काठमाडौँ १८ असोजः सिएमआर नेपाल जर्नालिजम एकेडेमीले आज जर्मन लेखिका ब्रिगिट हेगडर्नद्वारा लिखित पडकास्टिङसम्बन्धी पुस्तक ‘पडकास्टिङस् सक्षिप्त परिचय’ सार्वजनिक गरेको छ ।
एकेडेमीमा आयोजित कार्यक्रममा यहाँस्थित जर्मन दूतावासका नियोग उपप्रमुख तथा विकास सहयोग प्रमुख बेन्जामिन साइडेल र लेखिका हेगडर्नले पुस्तक सार्वजनिक गर्नुभएको हो । पुस्तक जर्मनीस्थित इन्टरलिङ्क एकेडेमीको सहकार्यमा सिएमआर नेपाल जर्नालिजम एकेडेमीले नेपालीमा अनुवाद गरी प्रकाशन गरेको हो ।

कार्यक्रममा नियोग उपप्रमुख साइडेलले लोकतन्त्रको विकासका लागि पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको र त्यसका लागि पत्रकारहरुको क्षमता अभिवृद्धि जरुरी रहेको बताउनुभयो । उहाँले पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि एकेडेमीले खेलेको भूमिकाको पनि सराहना गर्नुभयो ।

साइडेलले मिथ्या सूचना फैलिरहेको अवस्थामा पत्रकारिता र पत्रकारको महत्व झनै बढेको उल्लेख गर्दै प्रविधिले ल्याएको चुनौतीको सामना गर्न पत्रकारितासम्बन्धी तालिमहरु महत्वपूर्ण हुनेमा जोड दिनुभयो । लेखिका हेगडर्नले पडकास्टिङको महत्वको विषयमा चर्चा गर्नुभएको थियो ।

त्यसअवसरमा सिएमआर नेपालका कार्यकारी निर्देशक तिलक पाठकले सिएमआर नेपालले मिडिया अनुसन्धान, मिडिया नीति समीक्षा एवं सरोकारवालाहरुसँग छलफल गर्दै आएकोमा पछिल्लो समय मिथ्या सूचनाविरुद्ध अभियान सञ्चालन र मूलधारको मिडिया र पत्रकारलाई सहयोग एवं क्षमता अभिबृद्धिको कार्यक्रमलाई जोड दिएको बताउनुभयो ।

उहाँले नेपाल ‘फ्याक्ट चेक’ सुरु गरेर मिथ्या सूचनाको तथ्यजाँच गर्ने काम गरेको र एकेडेमीमार्फत पत्रकारहरुलाई ‘डेटा ड्रिभन जर्नालिज्म’, ‘मोबाइल जर्नालिज्म’, ‘पडकास्टिङ, डिजिटल सुरक्षा’ र ‘तथ्य जाँच’लगायतका तालिम दिँदै आएको बताउनुभयो ।

एकेडेमीका निर्देशक उज्ज्वल आचार्यले एकेडेमीले जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको सहकार्यमा पत्रकारितासम्बन्धी उच्च गुणस्तरको तालिम दिइरहेको र एकेडेमीले अहिलेसम्म एक सय ४६ पत्रकारहरुलाई तालिम दिइसकेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर