काठमाडौँ, ११ असोज : बागमती नदीले खतराको तह पार गरेको छ । उपत्यकाको खोकना जलमापन केन्द्रमा हालको जलसतह खतरा तहभन्दा धेरैमाथि पुगेको मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सार्वजनिक सूचना जारी गरी जनाएको छ ।

यहाँ खतराको तह ४ मिटर रहे पनि बाढी बढेर करिब पाँच मिटरमा पुगेको छ । अझै बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रहरूमा यात्रा गर्ने र रहनुहुनेहरूले भोलि दिउँसोसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

उपत्यकाका अन्य खोला र नदीहरूको पानी सावधानीको तहमा पुगेको छ । यस्तै साँझ बारा जिल्लास्थित पसाहा खोला, महेशपुर जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जनाइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपालका विभिन्न ३२ वटा बाढी मापन केन्द्रमा जल सतह चेतावनी तहमा पुगेको जानकारी गराएको छ । प्राधिकरणले आजै सूचना जारी गरी कुलेखानीको ड्याम भरिनसक्ने र खोल्नुपर्ने अवस्था आउनसक्ने भएकाले तल्लो क्षेत्रका स्थानीयलाई सुरक्षित रहन अनुरोध गरेको छ ।

प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले कुलेखानी बाँधदेखि तलका क्षेत्र र रौतहट सर्लाहीसम्मका बागमती तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरिएको जानकारी दिनुभयो ।

खोलाले बगाउँदा मोटरसाइकल चालक बेपत्ता
काठमाडौँ महानगरपालिका–१५ अन्नपूर्णचोक नजिक हलचोकबाट अजिमातर्फ जाने ढल मिसिएको खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार आज साँझ ६ः१५ बजेतिर बागमती प्रदेश ०२–०१८ प २९७३ नम्बरको मोटरसाइकलमा सवार सिन्धुपालचोक घर भइ हाल रानिवन बस्ने १९ वर्षे चालक राजन श्रेष्ठलाई खोलाले बगाएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार मोटरसाइकल निकाले पनि चालक श्रेष्ठ वेपत्ता छन् ।

हाल श्रेष्ठको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर