काठमाडौ, २१ भदौ । मन्त्रिपरिषद्को निर्णय बमोजिम सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाइएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले आज एक सूचना जारी गर्दै सो प्रतिबन्ध हटाउन इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ ।
टिकटकका कारण सामाजिक सदभाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परेको भन्दै सरकारले गत वर्ष कात्तिक २७ गते यसमाथि प्रतिबन्ध लगाएको थियो ।
नेपाल सरकारले अघि सारेका सर्त पालना गर्न कम्पनी सहमत भएसँगै मन्त्रिपरिषद्को भदौ ६ गतेको निर्णयअनुसार प्राधिकरणले प्रतिबन्ध हटाउन सेवा प्रदायकहरूलाई निर्देशन दिएको हो।
