महोत्तरी, ३१ साउनः नेपाली प्रजातान्त्रिक आन्दोलनका अमर सहिद केशव कोइरालाको ५०औं सहादत दिवस आज मनाइएको छ । महोत्तरीको मटिहानी नगरपालिका–८ राम माध्यमिक विद्यालय परिसरस्थित सहिद केशव कोइराला स्मारकस्थलमा निर्मित सहिद प्रतिमामा माल्यार्पण र श्रद्धासुमन व्यक्त गर्दै ५०औँ सहादत दिवस मनाइएको हो ।
कार्यक्रममा मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले सहिदप्रति सम्मान व्यक्त गर्दै नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहिद कोइरालाको सहादतले निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध लाग्न आम मटिहानीवासीलाई प्रेरित गरेको बताउनुभयो । मण्डलले सहिदको योगदान र सहादतलाई पछिसम्म सम्झना राख्न सहिद केशव कोइरालाका नाउँमा उद्यान, स्मारक र सभाहल निर्माण गरिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा सामाजिक सङ्संस्थाका प्रतिनिधिले सहिद केशव कोइरालाको सङ्घर्षपूर्ण जीवनबारे प्रकाश पार्नुभयो । नेपाली कांग्रेसका बैजनाथ मण्डल, नेपाल कम्यनिष्ट पार्टी (एमाले) का जुगेश्वर खत्बे, नेकपा (माओवादी केन्द्र)का उमाशङ्कर साह र लोसपाका श्यामकुमार मण्डल तथा जवाहर साह कसेराजसहितले सहिद केशव कोइरालाको सहादतले मटिहानीको परिचयमा प्रजातान्त्रिक आन्दोलन जोडिएको स्मरण गर्नुभयो ।
सो अवसरमा राम माविका प्रधानाध्यापक श्रीष मिश्रले ओखलढुङ्गाको भएर पनि सहिद केशवले ऊर्जावान उमेर मटिहानीमा बिताउँदै यस भेगमा पञ्चायतविरुद्ध जनमत निर्माणमा योगदान दिनुभएको बताउनुभयो । कार्यक्रम सहिद केशव कोइराला स्मृति प्रतिष्ठानका अध्यक्ष उपेन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो ।
विसं २०१७ मा संसदीय प्रजातान्त्रिक व्यवस्था खोसिएर पञ्चायती व्यवस्था लादिएपछि कोइराला विद्यार्थी जीवनमै नेपाली कांग्रेसमा आबद्ध भएर प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनमा होमिनु भएको थियो ।
मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) मा अध्ययनरत रहेकै बेला कांग्रेसको सशस्त्र आन्दोलनमा लाग्नुभएका कोइरालालाई महोत्तरीवासीले आदरका साथ सम्झने मटिहानीकै बासिन्दा ९० वर्षीय प्रेस स्वतन्त्रता सेनानी बिन्देश्वरीप्रसाद मण्डल बताउनुहुन्छ । कोइरालाले २०३१ साल साउन ३१ गते मटिहानी प्रहरी चौकी कब्जा गर्ने क्रममा प्रहरीको गोली लागेर सहादत प्राप्त गर्नुुभएको हो ।
मटिहानी प्रहरी चौकीमा विस्फोटको योजना बनाउने तत्कालीन नेपाली कांग्रेसका नेताहरु गणेश नेपाली, बलराम शर्मा, महेश कोइराला, श्रीधर झा र केशव कोइरालामध्ये २०३१ साल साउन ३१ गते राती चौकीमा विस्फोटको जिम्मेवारी साथीहरुबीच लिनुभएका कोइरालाले विष्फोट गराएलगत्तै प्रहरीले गरेको फायरिङमा उहाँको निधन भएको मटिहानीवासी सम्झन्छन् ।
विसं २००७ मा पूर्वी नेपालको ओखलढुङ्गामा जन्मेर महोत्तरीलाई प्रजातान्त्रिक आन्दोलनको कर्मक्षेत्र बनाउनुभएका सहिद कोइरालाको सहादतलाई चिरस्थायी बनाउन मटिहानी–जलेश्वर सडकको नामकरण सहिद केशव कोइराला मार्ग गरिनुपर्ने र उहाँको सहादतस्थल अहिलेको श्रीराम माध्यमिक विद्यालय परिसरमा मित्रराष्ट्र भारतको सहयोगले बनेको विद्यालय भवनको नाउँ पनि सहिद केशव विद्या सदन राखिनुपर्ने सहिद केशव कोइराला स्मृति प्रतिष्ठानका अध्यक्ष चौधरीको माग छ ।
सहादतस्थलमा नगरपालिकाले स्मारकस्थल र सहिद केशव कोइरालाकै नाउँमा सभाभवन निर्माण गरेको छ । स्मारकस्थलमा सहिद प्रतिमा उहाँकी धर्मपत्नी गुणकुमारी र छोरी समिता कोइरालाले स्थापित गर्नुभएको हो । सहिद केशव कोइरालाको प्रतिमा गत चैत ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले अनावरण गर्नुभएको हो ।
कोइराला कलकलाउँदो २४ वर्षे उमेरमा काखकी छोरी र पत्नीलाई छाडेर प्रजातान्त्रिक आन्दोलनमा लाग्नुभएको थियो । सहादतको निकै वर्षपछि मात्र २०७४ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारले कोइरालालाई सहिद घोषणा गरेको हो । सहिद कोइरालाका परिवारमा धर्मपत्नी गुणकुमारी, छोरी समिता र छोरीतर्फका दुई नाति रहेका छन् । समिताका पति उज्ज्वल बराल नेपाली कांग्रेसमा आबद्ध हुनुहुन्छ ।
