काठमाण्डौं, १८ बैशाख । नेपाली काँग्रेसले कोरोना विरुद्धको संघर्षमा राज्यको क्षमता विस्तार गर्दै युद्धस्तरमा कार्य गर्न सरकारलाई अपील गरेको छ । काँग्रेसका तर्फबाट आज शनिबार एक विज्ञप्ति सार्वजनिक गर्दै सो पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले यस्तो अपील गर्नुभएको हो ।

हिजो मात्रै त्यस पार्टीका सभापति शेरबहादुर देउवाले  कोरोनाको रोकथाममा सरकारको लाचार र अकर्मण्य रहेको बताउनुभएको थियो ।

यता सरकारले अस्पतालहरूमा बेड नभएकोले कोरोनाको उपाचार राज्यले गर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै विरामीलाई घरमै बस्न आग्रह गरेको छ । सरकारको यो आग्रहलाई काँग्रेसले हतास र त्रसको उपज भन्दै  सरकार गैरजिम्मेवार हुँदै गएको बताएको छ ।

प्रवक्ता शर्माको वक्तव्यमा उल्लेख छ : स्थितिको संवेदनशीलता दृष्टिगत गरेर नागरिकलाई गम्भीर बन्न राज्यले अपील गर्नु स्वभाविक र आवश्यक हो । तर संकटमा अपील गरिरहँदा हतास र त्रास होइन विश्वास प्रवाह गर्नु जिम्मेवार सरकारको कर्तव्य हुन्छ । तर ‘अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भइ सकेको’ सार्वजनिक वक्तव्यले सरकारको लाचारी मात्रै होइन गैह्र जिम्मेवार प्रवृत्ति पनि पुष्टि गरेको छ । इतिहासकै सबैभन्दा गैह्र जिम्मेवार अभिव्यक्ति  र जनताको जीवनप्रति खेलबाडको ब्यवहार हो यो । यस्तो निरीहता र अयोग्यताले आजको संकट पार लगाउन सकिन्न । नेपाली कांग्रेस लाचार अभिव्यक्ति बन्द गरेर युद्धस्तरमा कार्य गर्न र कोरोना विरुद्धको संघर्षमा राज्यको क्षमता बिस्तार गर्न सरकारलाई अपील गर्दछ ।

काँग्रेसले  बेड, भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजनको सिलिन्डर आदिमा सरकारको वास्तविक क्षमता कति हो ? संक्रमणको विस्तार कुन हदसम्म हुन सक्दछ भन्ने बिज्ञ अनुमान र विश्लेषण के छ ? त्यो हद सामना गर्न बेड लगायतको बिस्तारमा सरकारसंग बजेट, पुर्वाधार या इच्छाशक्ति के अभाव छ ? निजी क्षेत्रका अस्पतालहरुलाई कोरोना विरुद्धको संघर्षमा वृहत्तर सहकार्यमा कसरी गोलबन्द गर्ने ? राजनैतिक दलहरु, संघसंस्था र समाजसंँग सरकारले गरेको सहयोग अपेक्षा के हो ? फ्रन्टलाईनमा रहेर कार्य गरिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न सरकार कसरी प्रस्तुत हुने ? खोपको पछिल्लो खेप आयातमा अन्तर्राष्ट्रिय पहलकदमी कति तिब्रतर छ ? भन्ने प्रश्न गर्दै सरकार यी समग्र बिषयमा प्रष्ट, पारदर्शी, योजनाबद्ध र दृढ़ ढंगले प्रस्तुत हुन जरुरी रहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर