काठमाडौँ, १८ वैशाख । पूर्वीय दर्शनका अध्येता एबं संस्कृतका बिद्द्वान,राष्ट्रियसभाका पूर्वसदस्य एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा विदुर पौडेलको मष्तिष्काघातका कारण ७७ वर्षका उमेरमा आज बिहान ६.१५ बजे निधन भएको छ । यही वैशाख ११ गते कोभिडको पहिलो खोप लगाएपछि उहाँलाई मष्तिष्काघात भई उपचारका लागि सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजको सघन उपचार कक्षमा भर्ना गरिएको पौडेलका भाइ ध्रुब पौडेलले जानकारी दिनुभयो । शुक्रबार बेलुकी चिकित्सकले ठीक नहुने बताएपछि उहाँलाई पशुपति आर्यघाटमा लगिएको थियो ।

पशुपतिमा देहत्याग गर्ने पौडेलको इच्छाअनुसार नै पशुपतिस्थित वैद्यखानामा लगिएको थियो । ‘उहाँ शिवभक्त हुनुहुन्थ्यो । पशुपतिनाथ मन्दिर परिक्रमा गराएर वैद्यखानामा राखेपछि उहाँले आज विहान अन्तिम सास लिनुभयो,’   भाइ  पौडेलले जानकारी दिनुभयो ।

 नेपाली कांग्रेसको पूर्वकेन्द्रीय सदस्य, अधिकारसम्पन्न वाग्मती ढल व्यवस्थापन आयोजनाका पूर्वअध्यक्ष, पशुपति क्षेत्र विकास कोषका पूर्वसञ्चालक सदस्य पौडेल पछिल्लो समय भतिजा परमेश्वरका साथमा गुह्येश्वरीस्थित आफ्नै निवासमा बस्दै आउनुभएको थियो । खोटाङका  पौडेल छ दाजुभाइमध्ये जेठा हुनुहुन्थ्यो ।

सदाचारी एवं इमान्दार नेता पौडेलले लामो समय संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा प्राध्यापन गर्नुभएको थियो । प्राध्यापनपछि उहाँ राष्ट्रियसभाका सदस्य बन्नुभएको हो । सांसद हुँदा सुविधाका लागि गाडीका रूपमा प्राडो एवं पजेरो भित्र्याउन दिने सरकारी निर्णयको उहाँले विरोध गर्नुभएको थियो । गाडीको सुविधा नलिने उहाँ  एक सदस्य हुनुहुन्थ्यो ।’

प्रतिक्रिया

सम्बन्धित खवर