काठमाडौ, १७ वैशाख । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले देशमा कोरोना महामारी वढ्नुपर्ने परिस्थिति आउनुमा सरकारको चरम लापरवाही, असंवेदनशीलता र अर्कमन्यता जिम्मेवार छ भन्नुभएको छ ।
सभापति देउवाले उक्त कुरा आज बुढानिलकण्ठस्थित आफ्नै निवास आयोजित पत्रकार सम्मेलनमा वताउनुभएको हो ।
सो अवसरमा उहाँले यो सरकार न विगतका गल्तीहरुबाट सिक्छ न नेपाली कांग्रेस तथा अन्य सरोकारवालाहरुले दिएको सल्लाह र सुझावलाई आत्मसात गर्छ भन्ने आरोप लगाउनु भयो ।
अधुरा कामलाई नै पूरा भएको भन्दै उद्घाटन, भिडभाड र तडक—भडकमा मग्न ओली सरकारले संक्रमण रोक्ने कुनै ठोस काम नगरेकोले फेरि लकडाउन गर्ने स्थितिमा पुगेको सभापति देउवाले वताउनुभएको छ ।
सभापति देउवाले सरकारले काठमाडौं उपत्यका लगायतका ठाउँहरुमा १५ दिने लकडाउन लगाउने निर्णय गरे पछि कोभिड—१९ परिक्षण नगरी उपत्यका छोड्ने समय दिएर लाखौं मानिसहरु लकडाउन नभएका कम संक्रमित जिल्लाहरुमा पुगेका छन् भन्दै सरकारको यस्तो निर्णयले संक्रमण कम भएका ठाउँहरुमा समेत व्यापक संक्रमण बढ्ने खतरा बढेको उल्लेख गर्नुभएको छ ।
उहाँले नेपाली कांग्रेस कोभिड—१९ को बढ्दो संक्रमणका कारण जनताले भोगिरहेको समस्याबाट पार पाउन संक्रमण रोकथाम र उपचारको समुचित प्रबन्ध मिलाई लकडाउनको समयलाई पूर्ण रुपमा सदुपयोग गरी तत्काल काम गर्न सरकारसँग जोडदार माग गर्दछ भन्नुभएको छ ।
सभापति देउवाले सरकारलाई तत्काल कार्य गर्न सुझाव दिदै भन्नुभएको छ कोभिड–१९ संक्रमितहरुको उपचारका लागि अत्यावश्यक अक्सिजन र भेन्टिलेटरको यथेष्ट आपूर्ति तत्काल सुनिश्चित गरियोस्, कोभिड—१९ संक्रमितहरुलाई आवश्यक अस्पताल बेड, आइसियु वेड लगायतका स्वास्थ्य पूर्वाधार, अत्यावश्यक औषधी र अन्य आवश्यक स्वास्थ्य सामाग्रीहरुको तत्काल समुचित व्यवस्था गरियोस् ।
यसैगरी देशका सम्पूर्ण जिल्लाहरुमा कन्ट्याक ट्रेसिङ्गलाई प्रभावकारी बनाई सम्भावित संक्रमितहरुको पिसीआर परिक्षणलाई व्यापक गरियोस्,सिमा नाकाहरुमा अनिवार्य पिसिआर परिक्षण र परिक्षणको नतिजा नआउन्जेल होल्डीङ केन्द्रहरुमा राख्ने व्यवस्था गरियोस् । परिक्षणमा संक्रमित देखिएकाहरुलाई स्थानीय निकायहरुको समन्वयमा आइसोलेसन केन्द्रहरुको व्यवस्था गरी राखियोस् भन्नुभएको छ ।
उहाँले सुझावमा स्वास्थ्यकर्मी, सफाईकर्मी र सुरक्षाकर्मीहरुलाई विमा र जोखिम भत्ता तत्काल कार्यान्वयन गरियोस् । बढ्दो संक्रमणसँगै स्वास्थ्य जनशक्तिको अभाव देखिएकाले अस्पतालहरुमा थप स्वास्थ्य जनशक्तिको व्यवस्था गरियोस्, पूर्वाग्रही ढंगले लामो समयदेखि प्राविधिक स्वास्थ्य सचिव रिक्त राख्ने सरकारको गैर जिम्मेवारीपूर्ण रवैयाको भत्र्सना गर्दै तत्काल प्राविधिक स्वास्थ्य सचिवको व्यवस्था सुनिश्चित गर्न फेरि माग गर्नुभएको छ ।
यसैगरी खोप आपूर्ति लगायत अत्यावश्यक स्वास्थ्य सामाग्रीको आपूर्ति सुनिश्चित गर्न प्रभावकारी कुटनैतिक पहल गरियोस्, लकडाउनका समयमा पनि किसानका कृषि उपज तथा अन्य उपभोग्य वस्तुहरुको आपूर्ति र आवत—जावतलाई सहज गरियोस्, विदेशमा जानेहरुलाई आवश्यक पिसिआर परिक्षण गर्ने अस्पतालहरुको संख्या बढाउन सुझाव दिनुभएको छ ।
लकडाउनका कारण आर्थिक सामाजिक मारमा परेका आम नागरिक, श्रमिक र साना व्यवसायीहरुलाई आवश्यक राहत र सहयोगको कार्ययोजना ल्याइयोस् भन्दै सभापति देउवाले मास्क अनिवार्य लगाउने, सावुन पानीले हात धुने, भौतिक दुरी कायम गर्ने लगायतका स्वास्थ्य सुरक्षा मापदण्डहरुलाई कडाइका साथ लागू गर्न अनुगमन संयन्त्र मजवुत गर्न सुझाव दिनुभएको छ ।
सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई कोभिड–१९ को संक्रमणबाट आफू पनि जोगिन र अरुलाई पनि जोगाउन कोभिड–१९ स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न अनुरोध गर्दै नेपाली कांग्रेस कोभिड—१९ संक्रमणलाई रोकथाम गर्न, संक्रमितहरुलाई उपचार पहुँचमा सघाउन तथा राहत कार्य गर्न निम्न लिखित काम गर्ने प्रतिवद्धता जाहेर गर्नुभएको छ ।
अनिवार्य मास्क लगाउने, सावुन पानीले हात धुने, भौतिक दुरी कायम गर्ने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न नेपाली कांग्रेसका केन्द्र देखि स्थानीय तहसम्मका सबै संरचनाहरुलाई देशभरी सचेतना अभियान संचालन गर्न क्रियाशील गराइनेछ भन्दै
कोभिड—१९ बाट संक्रमित भई उपचारको पहुँचमा पुग्न समस्यामा परेकाहरुलाई हरसम्भव सहयोग गर्न पनि पार्टी संरचनाहरुलाई सक्रिय गराइनेछ भन्नुभएको छ ।
लकडाउनका कारण आर्थिक सामाजिक समस्या परेकाहरुलाई गत समयमा जस्तै सहयोग अभियान चलाउन नेपाली कांग्रेस क्रियाशील हुनेछ भन्दै उहाँले यस अघि नै नेपाली कांग्रेसले विकसित मित्र राष्ट्रहरुलाई आफ्नो अग्रीम वुकिङ गरेको खोप संख्याबाट आवश्यक नभएको खोप नेपाल जस्ता देशहरुलाई उपलब्ध गराउन अनुरोध गरेको थियो । यसै बीच संयुक्त राज्य अमेरिकाले खोप सहयोग गर्ने निर्णय गरेको छ भन्दै सो निर्णयको स्वागत गर्दै अन्य विकसित मित्र राष्ट्रहरुलाई पनि खोप सहयोग पु¥याउन अनुरोध गर्नुभएको छ ।
