काठमाण्डौं, १६ बैशाख । कोरोना विरुद्धको चिनिया खोप भेरोसिल लगाउने कार्य काठमाण्डौं जिल्लामा आज १६ गते बिहीबारबाट स्थगित भएको छ ।
स्वास्थ्य कार्यालय काठमाण्डौंले हिजो १५ गतेको मितिमा जारी गरेको सूचना अनुसार अब केही समयको लागि यो खोप दिने कार्य रोकिएको हो ।
आजैबाट काठमाण्डौं उपत्यकामा कर्फ्यु लागू भएको छ । तर खोप लगाउन किन रोकिएको हो त्यसको कारण भने सूचनामा जनाइएको छैन ।
स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जारी गर्नुभएको सूचनामा उल्लेख छ : वैशाख १६ गते पनि सो खोप काठमाडौंमा निरन्तर संचालन गर्ने भनिएकोमा अब सो खोप लगाउने कार्य केही समयको लागि स्थगित गर्ने निर्णय भएको छ ।
यस्तो निर्णय स्वस्थ्य सेवा विभागले गरेको हो ।
वितेका कही दिनदेखि काठमाण्डौं उपत्यकासहित देशभर कोरोनाको संक्रमण र यसबाट ग्रसित भै निधन हुनेको संख्या बढ्दो छ । स्वास्थ मन्त्रालयको आँकडाले पछिल्लो एक सातामा कोरोना संक्रमण २२८ प्रतिशतले बढेको देखाएको छ ।
भेरोसेल खोपको आठ लाख डोज चीनले नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो । यो खोप गत चैत २५ गतेबाट १८ वर्षदेखि ५९ वर्ष उमेरभित्रका व्यक्तिलाई मात्र दिन थालिएको थियो ।
उपत्यकाका यो खोप लगाउने ठाउँहरूमा मान्छेहरूको भीड लाग्न थालेको थियो ।
