काठमाडौँ, ३२ जेठ । देशभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङमा चारसय केभी क्षमताको हेटौँडा सबस्टेसन निर्माण सम्पन्न भएको छ ।
हेटौँडा–ढल्केबर–इनरुवा चारसय केभी प्रसारण लाइन आयोजना निर्माण सम्पन्न भएपछि ढल्केबरबाट पूर्व–पश्चिम चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिने हुँदा आन्तरिक रुपमा विद्युत् आपूर्ति सुदृढ हुने र भारतसँगको विद्युत् व्यापार थप विस्तार हुने बताइएको छ ।
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)बाट नुवाकोटको रातमाटेबाट निर्माण हुने चारसय केभीको डबल सर्किट प्रसारण लाइन हेटौँडा सबस्टेसनमा ल्याएर जोडिने छ । यसका लागि हेटौँडा सबस्टेसनमा आवश्यक पूर्वाधार संरचना निर्माण गरिसकिएको छ ।
राष्ट्रिय विद्युत् विकास दशक कार्यक्रमअन्तर्गत सरकार र प्राधिकरणको संयुक्त लगानीमा हेटौँडा–ढल्केबर इनरुवा चार सय केभी सबस्टेसन विस्तार आयोजना सुरु गरिएको थियो । आयोजनाअन्तर्गतका तीन वटै सबस्टेसन निर्माण सम्पन्न भएका छन् । हेटौँडा चार सय केभी सबस्टेसन निर्माणका लागि सन् २०१८ डिसेम्बरमा ठेक्का सम्झौता गएिको थियो ।
सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाअन्तर्गत निर्माण गरिएको २२०र१३२र११ केभी हेटौँडा सबस्टेसन निर्माणका लागि सन् २०१८ डिसेम्बरमा ठेक्का सम्झौता भएको थियो । ४००र२२०र१३२र११ केभी हेटौँडा सबस्टेसनको अनुमानित लागत रु तीन अर्ब रहेको छ ।
विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारी र त्यसको नियन्त्रण तथा रोकथामका लागि लागू गरिएको बन्दाबन्दीले आयोजना निर्माण प्रभावित भएको थियो । कोरोना महामारीका कारणले सबस्टेसन जडान हुने विभिन्न उपकरण र प्राविधिक पूर्वनिर्धारित समयमा नै आयोजनास्थलसम्म आइनपुगेको तथा विविध कारणले आयोजनाको निर्माणमा केही ढिलाइ भएको थियो ।