काठमाण्डौं, १३ बैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको खोप व्यवस्था मिलाउन कुटनीतिक सकृयता वढाउन सरकारसँग माग गर्नुभएको छ । मुलुक दोस्रो चरणको कोभिड–१९ को संक्रमणबाट आक्रान्त भैरहेको बेला आज सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै देउवाले यस्तो आग्रह गर्नुभएको हो ।
देउवाले आफ्नो विज्ञप्तिमा उल्लेख गर्नुभएको छ : देशको सम्पूर्ण आवश्यकता पूर्ति गर्न हामीलाई अझ ठूलो संख्यामा खोपको आवश्यकता छ । चाँडो भन्दा चाँडो आवश्यक खोपको व्यवस्था मिलाउने तर्फ ठोस योजना सहित कुटनैतिक सकृयता वढाउन सरकारसँग माग गर्दछु ।
विकसित मित्रराष्ट्रहरुले खोप उत्पादक संस्थाहरुसँग आ–आफ्नो देशहरुको आवश्यकता भन्दा पनि वढी संख्यामा खोप अग्रिम बुकिङ्ग सुरक्षित गरेको र नेपाल जस्ता देशहरूले अग्रिम बुकिङ्ग गर्न नसकेको कारण नेपाल जस्ता देशहरुलाई हाल समस्या परेको बताउँदै उहाँले ती देशहरूलाई वुकिङ्ग भएको संख्यामध्येबाट खोप सुविधा उपलव्ध गराउन अनुरोधसमेत गर्नुभएको छ । ।
विज्ञप्तिमा उहाँले उल्लेख गर्नुभएको छ : देश दोस्रो चरणको कोभिड–१९ को संक्रमणको चपेटामा छ । संक्रमण दर तीव्र गतिमा वढेको छ भने सक्रमणवाट गम्भीर विरामी भएर आ.ई.सि.यू. र भेन्टिलेटरको आवश्यकता पर्नेको संख्या पनि वढदो छ । अहिले युवाहरुमा पनि संक्रमण उल्लेख्य रुपमा वढेको छ । संक्रमितहरुको उपचार पूरागर्न देशको स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति बनेको छ । यस अवस्थामा, परिस्थितिलाई थप जटिल हुन नदिन तत्काल कोभिड–१९ को संक्रमणलाई रोक्ने हर सम्भव उपायहरु गर्न म सरकारसँग माग गर्दछु ।
विज्ञप्तिमा उहाँले सरकार बेलैमा गम्भीर नभएकोले खोपको उचित व्यबस्थापन हुन नसकेको उल्लेख गर्नुभएको छ । देउवाको अनुसार, आम नागरिकहरुलाई कोभिड–१९ को संक्रमणवाट सुरक्षित राख्न खोप सबैभन्दा भरपर्दो उपाय हो । यसतर्फ सरकारले समयमा गम्भीर नहुनाले खोपको समुचित व्यवस्था हुन सकेको छैन ।
उहाँले भारत र चीनबाट प्रप्त निःशुल्क खोपको सहयोगबाट ठूलो राहत महशुस भएको बताउँदै सो सहयोगका लागि दुवै मित्रराष्ट्रहरुलाई धन्यवाद पनि दिनुभएको छ ।
