काठमाडौँ, १२ वैशाख । यो साता भारतमा २० सहित विदेशस्थित २३ जनाको नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार भारतलगायत विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको हो ।
गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यो साता भारतमा २०, कुवेतमा दुई र कतारमा एकजना नेपालीको कोरोनाका कारण निधन भएको हो । भारतको नयाँ दिल्लीमा कार्यरत स्वास्थ्य समितिका सदस्यसमेत रहेका अल इन्डिया इस्न्टिच्युट अफ मेडिकल साइन्समा कार्यरत डा सागर पौडेलका अनुसार भारतको नयाँ दिल्लीमा १० र भारतका अन्य क्षेत्रमा थप १० गरी कूल २० जना नेपालीको निधन भएको हो । निधन हुनेमा अधिकांश ५० वर्षभन्दा मुनिका रहेका छन् । योसँगै हालसम्म विश्वका विभिन्न २१ मुलुकमा सङ्क्रमणका कारण ३७२ जना नेपालीको निधन भएको छ । हालसम्म मृत्यु भएकामध्ये २४५ जना मध्यपूर्वका रहेका छन् ।
अहिलेसम्म विश्वका ५४ मुलुकमा कोभिड–१९ का कारण सङ्क्रमित हुने नेपालीको सङ्ख्या ६८ हजार ५०६ जना पुगेको छ । कूल सङ्क्रमितमध्ये ९४ दशमलव ६ प्रतिशत अर्थात् ६४ हजार ७४४ जना सङ्क्रमणमुक्त भएका छन् । यो साता भारत, कुवेत, कतार, युएई, रोमनिया, रुस, फिनल्यान्ड, डेनमार्क, चेक रिपब्लिक, पोल्यान्ड रहेका नेपालीमा थप कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
नेपालमा हालसम्म दुई लाख ९७ हजार ८७ जना सङ्क्रमित पुगेकामा ९३ दशमलव तीन प्रतिशत अर्थात् दुई लाख ७७ हजार १२३ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणका कारण शनिबार साँझसम्म तीन हजार १३६ जनाको निधन भएको छ ।
यसैबीच, गत सोमबार वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले महामारीका दौरान २५० जना चिकित्सक र नर्स परिचालन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार, नेपालबाहिर करीब पाँच हजार चिकित्सक र १५ हजारको हाराहारीमा नर्सहरु रहेका छन् । ती सबै स्वास्थ्यकर्मीलाई एनआरएनमा जोड्न प्रयास भइरहेको उहाँले बताउनुभयो ।
मानसिक स्वास्थ्य समस्यामा वृद्धि
कोभिड महामारीसँगै विश्वभर छरिएका नेपालीहरुमा मानसिक स्वास्थ्य समस्याहरू देखिएको चिकित्सकले बताएका छन् । समिति संयोजक डा सापकोटासहित पत्रकार सम्मेलनमा विभिन्न देशबाट भर्चुअल माध्यमबाट सहभागी चिकित्सकले मानसिक रोगको अवस्था चिन्ताजनक रुपमा देखिएको बताएका छन् । महामारीका कारण व्यापार व्यवसाय बन्द हुने, सङ्क्रमित हुने तथा परिवारमै मृत्यु हुने, रोजगारी गुम्नेलगायत समस्याले मानसिक समस्या बढ्दै गएको उनीहरूले बताएका हुन् । मानसिक समस्या समाधानका लागि स्वास्थ्य समितिले तालीम सञ्चालन गरेको समितिका संयोजक सापकोटाले जानकारी दिनुभयो ।
त्यस्तै, आत्महत्या रोकथामका लागि पनि कार्यक्रम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । स्वास्थ्य समितिमा नेपाल तथा विश्वका विभिन्न मुलुकमा कार्यरत नेपाली चिकित्सक सहभागी छन् । विदेशमा रहेका नेपालीको अवस्थाको तथ्याङ्क सङ्कलनमा युरोप संयोजक डा बोधराज सुवेदी, युकेबाट डा दिलीप यादव, कतारबाट डा नितेश अर्याल, दक्षिण अफ्रिकाबाट डा सरिता भट्टराई र स्पेनबाट नर्स साङ्ग्रिला लामा लगायतको टोलीले तथ्याङ्क सङ्कलन गर्न सहयोग गरिरहेका छन् ।
