काठमाडौँ, २६ वैशाखः आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीनकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गतेसम्ममा उनीहरूको मृत्यु भएको हो ।
प्राधिकरणले आगलागीबाट १८, डढेलोले छ तथा चट्याङ लागेर तीन जनाले ज्यान गुमाएका तथा ९० जना घाइते भएका प्राधिकरणले बताएको छ ।
यसैबीच, प्राधिकरणले अग्निपीडित परिवारलाई पनि अस्थायी घर बनाउन आर्थिक सहयोग गर्ने कार्यविधि स्वीकृत गरेको जनाएको छ । यसअघि त्यस्तो सुविधा भूकम्पपीडितका लागि मात्र उपलव्ध थियो ।
वनमा आगो लगाएको अभियोगमा पक्राउ
वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् । सिद्धिचरण नगरपालिका–११ को नगरपार्कमा आगो लगाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बालिस्टार सिंहका अनुसार सिद्धिचरण नगरपालिका–११ का २६ वर्षीय महेश विक र २३ वर्षीय सुजन विकलाई पक्राउ गरिएको हो । ओखलढुङ्गा जिल्ला अदालतले अभियुक्तहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई चार दिनको म्याद दिएको छ ।
जिल्लाका वनमा आगलागीका घटना बढेसँगै प्रहरीले आगो लगाउनेको खोजी अभियान थालेको प्रहरी निरीक्षक सिंहले बताउनुभयो । गत सोमबार सिद्धिचरण नगरपालिका–१० स्थित एक घरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको थियो ।
