गोरखा, १० बैशाख । मनास्लु हिमालबाट हिमपहिरो खसेर असन्तुलित बनेको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित सामागाउँमा रहेको वीरेन्द्र ताल विस्तारै सामान्य अवस्थामा फर्कन थालेको छ।

आइतबार बिहान ठूलो हिमपहिरो तालमा खसेपछि तालको पानी ‘ओभरफ्लो’ भएर असन्तुलित बनेको थियो।

“हिम पहिरोबाट तालको पानी बाहिर निस्किएर बुढीगण्डकी नदीमा मिसिएको अवस्था थियो”, प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो : “अहिले अवस्था सामान्य रहेको छ, ताल सामान्य अवस्थामा फर्किँदै गइरहेको अवस्था छ।”

प्रजिअ खदाहालका अनुसार तालको नजिक बस्ती नभएका कारण हिमपहिरो खसेर असन्तुलित बनेको तालले कुनै ठूलो भौतिक तथा मानवीय क्षति भएको छैन । आजबाट हिमालबाट तालमा पहिरो खस्ने क्रमसमेत रोकिएको छ ।

“तालको पानी ओभरफ्लो भएर बुढीगण्डकी नदीमा पानीको बहाव बढ्दा तालबाट करिब आधा घण्टाको दूरीमा रहेको सामागाउँबाट साम्दोसम्म जाने बाटोको बीचमा पर्ने एउटा पुरानो काठ पुल बगाएको छ”, उहाँले भन्नुभयो  :  “त्यसबाहेक अन्य कुनै मानवीय र भौतिक क्षति भएको छैन, पहिरो खस्ने क्रम समेत रोकिइसकेको छ।”

मनास्लु हिमालको काखैमा रहेको वीरेन्द्र तालमा आइतबार ठूलो हिमपहिरो खसेको थियो।

हिमपहिरो खसेपछि बुढीगण्डकी नदीमा पानीको बहाव बढेकाले जिल्ला प्रशासन कार्यालयले बुढीगण्डकी नदी आसपासका क्षेत्रका बासिन्दालाई सुरक्षित रहन तथा नदी वरपर नजान आह्वान गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर