खोटाङ, ४ वैशाख । प्रसिद्ध धार्मिकस्थल खोटाङको हलेसीमा रामनवमी मेला सुरु भएको छ । हिन्दू, बौद्ध र किरात धर्मालम्बीको साझा तीर्थस्थल हलेसीमा रामनवमीको अवसर पारेर एक साताअघिदेखि धार्मिक मेला लागेको हो ।
भोलि बुधबार रामनवमी पर्व हो । यसै अवसर पारेर आयोजित मेलामा आउने दर्शनार्थीलाई सहजरुपमा पूजाआजा गर्ने वातावरण मिलाउन स्वयम्सेवक तथा प्रहरी परिचालन गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले जानकारी दिनुभयो ।
“रामनवमीको अघिल्लो रात अर्थात आज बेलुका जाग्राम बस्ने चलन छ । भोलि पञ्चेबाजासहित गहना लगेर महादेवलाई पहि¥याउने गरिन्छ”, उहाँले भन्नुभयो, “महादेवलाई गहना पहि¥याउने समयमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । यसै पर्वको अवसरमा यस वर्ष मेला आयोजना गरिएकाले मन्दिरमा धेरै भक्तजनको घुइँचो लागेको छ ।”
मेला भर्नका लागि नेपालका अधिकांश जिल्लाका साथै छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरियालगायत विभिन्न राष्ट्रबाट दर्शनार्थी यहाँ आउने गरेका छन् ।
