
काठमाडौ,२१ चैत । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले सहकारीका ५० हजार बचतकर्ताहरूको ८० करोड रुपैयाँ रवि लामिछाने र जिबी राई सामेल रहेको गोर्खा मिडियामा गएको बताउनुभएको छ ।
महामन्त्रीसमेत रहेका शर्माले उक्त कुरा प्रतिनिधि सभा आजको बैठकमा जानकारी दिनुभएको हो । उहाँले देशका विभिन्न ५ सहरका बेग्लाबेग्लै ५ सहकारीबाट रवि र जिबी सामेल गोर्खा मिडियामा गएको बताउनुभयो ।
‘आधा दर्जनभन्दा बढी सहकारीको ८० करोड उक्त रुपैयाँ गोर्खा मिडियामा गएको देखिन्छ, कुन समयमा? जुन समयमा जिबी राईपछि दोस्रो महत्वपूर्ण जिम्मेवारीमा हुनुहुन्थ्यो रवि लामिछाने। मिति भनौं, २०७७ साल चैत २५ देखि २०७९ सालको असार १ गतेसम्म रविजी गोर्खा मिडिया प्रालिको सञ्चालक र प्रबन्ध निर्देशक हुनुहुन्थ्यो,’ शर्माले भने, ‘५ वटा सहरको ५ वटा सहकारीको ५० हजार बचतकर्ताको ८० करोड रुपैयाँ। (स) बाट नाम उठेका ५ वटा सहकारीबाट रकम प्रवाह गरिएको छ।’
काठमाडौंको सुवर्णलक्ष्मी, पोखराको सुर्यदर्शन, चितवनको साहारा, नेपालगञ्जको समानता र वीरगञ्जको सानोपाइला सहकारीका रकम गोर्खा मिडियामा आएको जानकारी उहाँले दिनुभयो ।
‘नयाँ दलको ऊर्जालाई सम्मान गर्दै गर्दा के आग्रह गर्न चाहन्छु भने त्यहाँभित्र एउटा कोर टिम रहेछ। जो यो समग्र गतिविधिमा सामेल छ। त्यहाँभित्र अर्को डोर टिम रहेछ, जो ढोकामा बसेर ढाकछोपको काम गर्छ। अर्को पोर टिम छ जो देशभर बसेर रास्वपा जिन्दावाद भनेर फेसबुकमा लेखिरहन्छ,’ शर्माले भन्नुभयो ।