काठमाण्डौं, ८ बैशाख । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र सो पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीच आज साँझ अकस्मात् भेटवार्ता भएको छ ।
गत पुस ५ गते प्रम ओलीले प्रतिनिधिसभा विघटन गरेपछि यी नेताबीचको मतभेद बढेर पार्टी फुटको संघारमा पुगेको अवस्था छ ।गत चैत २ गते यता उहाँहरूबीच भेटवार्ता भएको छैन ।
ओलीले वरिष्ठ नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिना पार्टी सदस्यबाट निलम्बनसमेत गरिसक्नु भएको छ । हिजो मात्रै पनि उहाँले नेपालपक्षका २७ जना नेतालाई पार्टीबाट किन निलम्बन नगर्ने भनी स्पष्टिकरण सोध्नुभएको छ ।
उता नेपाल पक्षले जिल्लाहरूमा पार्टीको समानान्तर संगठन बनाउँदै ओली विरुद्ध मोर्चाबन्दी गरिरहेको छ ।
यता पहिले एमालेसँग मिलेर एकै पार्टी भएको र सर्वोच्च अदालतको फागुन २३ को फैसला पश्चात् छुट्टै पार्टीको अस्तित्वमा हुन पुगेको माओवादी केन्द्रको आजको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने अधिकार सो पार्टीका अध्यक्ष प्रचण्डलाई दिएकै दिन भएको ओली र नेपालको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
तर वार्तामा के भयो भन्ने कुरा दुवैतिरबाट सार्वजनिक गरिएको छैन । वार्ताको फोटो भने प्रमका सल्लाहकार सूर्यथापाले सार्वजनिक गर्नुभएको छ ।
भेटवार्ता काठमाण्डौंको म्यारियट होटलमा भएको थियो । वार्तामा अन्य कसैको पनि सहभागिता थिएन । वार्ता लगभग दुई घण्टा चलेको थियो ।
ओली र नेपाललाई भेटगराउन अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोती दुगड लाग्नुभएको थियो । दुइ नेता भेटमा व्यस्त रहँदा उहाँहरु सोही होटल परिसरमा भेटिनु भएको थियो ।
यसअघि गत चैत २ मा ओली र नेपालसहित दुबै पक्षका नेताहरुबीच पार्टी कार्यालय धुम्बाराहीमा वार्ता भएको थियो ।
