डोटी, १७ चैतः डोटीमा दाउरा काट्ने क्रममा रुखले च्यापिएर एक बालकको मृत्यु भएको छ । सायलगाउँपालिका(२ खरगडाका मदनबोहराका १४ वर्षीय छोरा तिलक बोहराको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक नारायणसिं नेगीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सायल गाउँपालिका(५ पटकानीस्थित मामाघर बस्दै आएका बोहरा रानीवन जङ्गलमा दाउराका लागि बाँझको रुख काट्ने क्रममा दिउँसो १२ बजे सोही रुखले च्यापिएर गम्भीर घाइते भएका थिए ।
घाइते बोहरालाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याइएकामा दिउँसो ३ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीको भनाइ छ । घटनाको अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय आदर्शबाट प्रहरी निरीक्षक जनकबहादुर बोहराको कमाण्ड र प्रहरी चौकी डौडबाट प्रहरी सहायक निरीक्षक चक्रबहादुर मल्लको कमान्डमा प्रहरी घटनास्थलमा गएको प्रहरी नायब निरीक्षक नेगीले जानकारी दिनुभयो ।