काठमाडौँ, २ चैतः प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसअघि संसदमा उठेका विषयमा सरकारबाट जवाफ नआएको भन्दै विरोध जनाएपछि आजको बैठक केहीबेरका लागि स्थगित गरिएको हो । सांसद्को अवरोधका कारण स्थगित भएको प्रतिनिधिसभाको बैठक अझै सुरु भएको छैन ।
बैठकमा सांसद रमेश लेखकले प्रतिपक्षी दलले पटक-पटक उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीबाट नआएको भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “प्रतिपक्षले उठाएका विषयमा प्रधानमन्त्रीले जवाफ दिनका लागि संसदबाट रुलिङ भएको छ । तर, प्रधानमन्त्रीको जवाफ नआएसम्म उपप्रधानमन्त्री तथा गृहमन्त्रीले संसदमा राख्नुहुने प्रस्तावमाथि छलफल गर्न सकिदैन । तर प्रतिपक्ष नेपाली काँग्रेसले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको कार्यसूचीमा अवरोध गर्दैन ।”
आज उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो । सभामुख देवराज घिमिरेले निर्धारित कार्यसूचिमा अगाडि बढ्न आग्रह गरेपनि प्रतिपक्षी दलका सांसदले आसनबाट उठेर विरोध जनाएपछि बैठक केही समयका लागि स्थगित गरिएको हो ।
यस अघि नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले प्रश्नको घेराभित्र रहेका कुनै पनि व्यक्तिलाई सरकारमा नलैजाने नजीर बनाइनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा समय मागेर आकस्मिक समयमा उहाँले प्रश्न उठेका व्यक्तिलाई गृहमन्त्री बनाइएकामा आपत्ति जनाउनुभयो । सांसद पौडेलले विगत केही दिनदेखि प्रमुख प्रतिपक्ष दलले प्रश्न उठाइरहे पनि सरकारले नसुनेको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, “आफूमाथि प्रश्नको जिम्मेवारी बोकेर गृहमन्त्री हुनु हुँदैनथ्यो । उहाँ प्रश्न गर्ने पेसाबाट आउनुभएको हो, त्यसैले प्रश्नलाई निषेध गर्न मिल्दैन । उठेका सवालको जवाफ दिनुपर्छ । प्रधानमन्त्रीले जवाफ नदिएसम्म कांग्रेसले यो प्रश्न उठाइरहनेछ ।”
सांसद पौडेलले सहकारीपीडतको माग सम्बोधन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद पौडेलले उठाउनुभएका विषयप्रति सभामुख देवराज घिमिरेले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
—
