काठमाडौँ, २४ फागुन: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनःगठनबाटै धेरै प्रश्नहरूको जवाफ दिइसकेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा यसअघि सांसदहरुले राख्नुभएको जिज्ञासाको सम्बोधन गर्दै उहाँले यही फागुन ६ देखि १८ गतेसम्मका बैठकमा विभिन्न विषयमा सरकारको धारणा माग गरिएकामा सरकारको समीकरणसँगै मन्त्रीको राजीनामाको विषय स्वतः सम्बोधन भएको बताउनुभयो ।
“सांसदहरूले उठाउनुभएका विषयको जवाफसँगै पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राख्दैछु”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनःगठनसँगै माननीयज्यूहरूका केही प्रश्नले जवाफ पाइसकेका छन् । उदाहरणका लागि बालकुमारी घटनामा दोषी देखिएका भनिएका तत्कालीन मन्त्रीको विषय सरकारको पुनःगठनसँगै असान्दर्भिक भएको छ ।”
सहकारी र लघुवित्तलाई कडाइका साथ नियमन गर्छौँः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रचलित कानुन तथा नेपाल राष्ट्र बैङ्कबाट दिइएको निर्देशनविपरीत काम गर्ने लघुवित्त वित्तीय संस्थालाई छानबिन गरी कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदले उठाउनुभएको जिज्ञाशाको जवाफ दिँदै उहाँले तोकेभन्दा बढी शुल्क लिएकालाई बढी शुल्क सम्बन्धित खातावालालाई फिर्ता दिने काम भइरहेको जानकारी गराउनुभयो । “तोकेभन्दा बढी लिइएको सेवा शुल्क फिर्ता गरी सम्बन्धित ऋणीको खातामा जम्मा गर्न दिएको निर्देशन कार्यान्वयन भइरहेको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “गुनासो सुनुवाइ र त्यसको समाधानका लागि लघुवित्त संस्था सुपरीवेक्षण विभागमा बेग्लै ‘डेस्क’को व्यवस्था गरिएको छ ।”
उहाँले दुग्ध किसानको भुक्तानी सहज बनाउन सरकार, सम्बन्धित उद्योगी–व्यवसायी र किसान सङ्गठनबीच वार्ता गराई किसानले पाउनुपर्ने पुस मसान्तसम्मको वक्यौता आगामी चैत्र २१ गतेभित्र भुक्तानी गरिसक्ने र अन्य नियमित भुक्तानी जारी राख्ने सहमति भएको बताउनुभयो ।
उहाँले कपिलवस्तुको रामग्रामको जग्गा लिज सम्बन्धमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले दिएको निर्देशन लुम्बिनी विकास कोषको कार्यकारिणी समितिले कार्यान्वयन गरिसकेको जानकारी गराउनुभयो ।
बचत तथा ऋणको मुख्य कारोबार गर्ने कुनै पनि प्रकृतिको सहकारी सङ्घ, प्रदेश र स्थानीय तहबाट दर्ता, कार्यक्षेत्र विस्तार र सेवा केन्द्रको स्वीकृतिमा रोक लगाइएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले वित्तीय सहकारी संस्थाको नियमनका लागि दोस्रो तहको नियामक निकाय बनाउने कानुनको मस्यौदा अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
