तुलसीपुर, १२ फागुनः लुम्बिनी प्रदेशसभा सदस्य जानकीप्रसाद यादवलाई प्रदेशसभा सदस्यबाट निलम्बन गरिएको छ । यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेकापछि उहाँ स्वतः निलम्वनमा पर्नुभएको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभा सचिव दुलर्भकुमार पुनले सूचना जारी गरी यादवविरुद्धको मुद्दा अन्तिम किनारा नभएसम्म स्वतःनिलम्वनमा रहने कानुनी व्यवस्था रहेकाले सोहीअनुसार निलम्वन गरिएको जानकारी दिनुभयो । उहाँविरुद्ध सार्वजनिक सम्पत्ति(वन पैदावार) को हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्ने विषयमा यही फागुन ८ गते विशेष अदालतमा मुद्दा परेको हो ।
उहाँ कपिलवस्तु क्षेत्र नं ३ को २ बाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित यादव यसअघि उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री हुनुहुन्थ्यो ।
उनीसँगै तत्कालीन कपिलवस्तु जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, डिभिजनल वन अधिकृत दुर्गाबहादुर कार्की, गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समिति कार्यान्वयन इकाईका तत्कालीन संयोजक वन अधिकृत महेन्द्रराज वाग्ले, सहायक वन अधिकृत ब्रहमदेव महतो, रेन्जर हेमराज पण्डित र सहायक वन अधिकृत शिवशंकर प्रसादविरूद्ध मुद्दा दायर भएको छ ।
त्यस्तै प्रदेश वन निर्देशनालय रूपन्देहीका सहायक वन अधिकृत टोलकराज चापागाईँ, सब९डिभिजन वन कार्यालय गुगौली कपिलवस्तुका सहायक वन अधिकृत लालबाबु झा, सहायक वन अधिकृत गणेशकुमार थारू, सहायक वन अधिकृत नागेन्द्रप्रसाद सिंह राजपुत, वन रक्षकहरू सन्जय थारू, संजय केवट, रामगोपाल त्रिपाठी, बासुदेव गोडिया र फरेष्टर रमतु चौधरीविरूद्ध पनि अख्तियारले मुद्दा दायर गरेको हो। गोदियाले अवकाश प्राप्त गरिसकेका छन् ।
उनीहरूविरूद्ध अख्तियारले २९ लाख १२ हजार १९३ रुपैयाँ बिगो मागदाबी गरेको छ। उक्त बिगो असुल गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद सजायको मागदाबी समेत गरेको छ। उक्त ऐनको दफा १७ बमोजिम बिगो असुल गर्न मागदाबी गरेको हो ।
