काठमाडौँ, ४ फागुन : नेपाली कांग्रेसले यही फागुन ७ देखि १० गतेसम्म हुने महासमिति बैठकमा पेश हुने विभिन्न दस्तावेज केन्द्रीय कार्यसमिति बैठकबाट पारित गरेको छ ।

केन्द्रीय समितिले उपसभापति पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव, प्रवक्ता डा. प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक अवस्था, सम्भावना र भावी दिशा सम्बन्धी प्रतिवेदन र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेद्वारा प्रस्तुत लेखा परिक्षण प्रतिवेदन पारित गरेको हो ।

यही फागुन ३ र ४ गते पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले उक्त सबै प्रस्तावमाथि छलफल गरेर प्राप्त सुझावलाई समावेश गरी परिमार्जनसहित महासमितिको बैठकमा प्रस्तुत गर्ने गरी पारित गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यसैगरी बैठकले महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराउने निर्णय गरेको छ ।

बैकठले कांग्रेस सङ्घीय संसद्, संसदीय दलको कार्यसमितिको निर्वाचन गराउन सहमहामन्त्री भीष्मराज आङ्दम्बेको संयोजकत्वमा केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य रहेको निर्वाचन समिति गठन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

आजको बैठकमा केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, अर्जुननरसिंह के.सी., डा. शेखर कोइराला, बलबहादुर के.सी., ज्ञानेन्द्रबहादुर कार्की, डा. मिनेन्द्र रिजाल, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, आनन्दप्रसाद ढुङ्गाना, दीपक गिरी, डा. चन्द्रकान्त भण्डारी, पुष्पा भुसाल, शङ्कर भण्डारी, मीनबहादुर विश्वकर्मा, सुजाता परियार, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, प्रदिप पौडेल, कल्याणकुमार गुरुङ, देवेन्द्रराज कण्डेल, डा. डिला सङ्ग्रौला, किरण यादव, शिवप्रसाद हुमागाँइ, रामजनम चौधरी, डा. गोपाल दहित, योगेन्द्र चौधरी, किरणराज शर्मा पौडेल, रमा कोइराला (पौडेल), कृष्णकिशोर घिमिरे, आङ्गेलु शेर्पा, मानबहादुर नेपाली, उमेशजङ्ग रायमाझी, उदयशम्शेर राणा, जीतजङ्ग बस्नेत, नैनसिंह महर, राजीव ढुङ्गानाले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

–––

प्रतिक्रिया

सम्बन्धित खवर