काठमाण्डौं, २१ पुस । सरकारले सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर मारिएका व्यक्तिको परिवारलाई दश लाख रुपैया राहत उपलब्ध गराउने भएको छ । साथै  सो घटनाको छानबिन गर्न ३ सदस्यीय समितिसमेत गठन गरेको छ ।

गृह मन्त्रालयले आज शनिबार एक विज्ञप्ति जारी गरी यो जानकारी गराएको हो ।

गृहका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा उललेख भए अनुसार छानबिन समितिमा मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजक रहनु भएको छ भने नेपाल प्रहरीका डीआईजी सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक भीमबहादुर बुढाथोकी सदस्य रहनु भएको छ ।

यो समितिलाई ७ दिन भित्र  छानबीन सकी प्रतिबेदन बुझाउन म्याद दिइएको छ ।

हिजो शुक्रबार सर्लाहीको बरहथवा नगरपालिका–५ मा प्रँथमिक स्वास्थ्यकेन्द्र बरहथवालाई स्तरोन्नति गर्ने वा नगर्ने विषयमा भएको विवादमा स्थानीय वासिन्दाले गरेको प्रदर्शनमा गोली लागेर बरहथवा–६ का अन्दाजी ३० वर्षका जयशंकर साहको मृत्यु भएको थियो ।

त्यसपछि सर्लाहीका विभिन्न ठाउँमा स्थानीयद्वारा विरोध प्रदर्शन भैरहेको छ । आज साँझसम्म पनि सर्लाही अशान्त छ । स्थानीय प्रशासनले भोलि आइतबार बिहानसम्मको लागि त्यस क्षेत्रमा निषेधाज्ञाको समय बढाएको छ । त्यहाँ हिजो शुक्रबार साँझदेखि नै निषेधाज्ञा जारी गरी जुलुस निकाल्न, सभा सम्मेलन गर्न र समूहमा हिडडुल गर्न रोक लगाइएको हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर